Sunday, December 22

के राजीनामा दिँदैछन् एप्पलका सीईओले

काठमाडौं । टिम कुकले करीब १३ वर्षदेखि एप्पल कम्पनीको सीईओ पद सम्हाल्दै आएका छन् । अहिले उनको उमेर ६० वर्ष नाघिसकेको छ । त्यसैले उनी अब कम्पनीबाट अलग्गिन सक्ने अनुमान गर्न थालिएको छ । यस्तो खालको चर्चा कहिलेकाहीँ सोसल मिडिया लगायतका प्लाटफर्ममा पनि देख्नुभएकै होला । अब यही प्रश्नको जवाफ टिम कुक स्वयंले दिएका छन् ।

टिम कुकलाई हालै एक अन्तरवार्ताका क्रममा एप्पलको सीईओ पद कहिले छाड्नुहुन्छ ? भनेर सोधिएको थियो । यसको जवाफ उनले मुस्कुराउँदै दिए । आफूले आफ्नो मनले भो नभनुन्जेलसम्म काम गरिरहने उनको जवाफ थियो ।

टिम कुकले सन् २०११ मा एप्पलको नेतृत्व सम्हालेका थिए । उनले अन्तरवार्ताका क्रममा आफूले आफ्नो जिम्मेवारीलाई जागिरभन्दा ठूलो ठान्ने र एप्पलविना जीवनको कल्पना पनि गर्न नसक्ने बताए ।

टिम कुकले सन् १९९८ देखि एप्पलमा काम गरिरहेका छन् ।

एआईका विषयमा एप्पलको तयारी के छ ?

उक्त अन्तरवार्ताका क्रममा टिम कुकले एप्पलको एआईका विषयमा भैरहेको तयारीका बारेमा पनि बताए । कम्पनीले आफ्नै एआई तयार गरिरहेको उनको भनाइ थियो । उनी एप्पलका लागि एआई मोडेल तयार गर्न चाहन्छन्, जसबाट धेरैभन्दा धेरै फाइदा उठाउन सकियोस् ।

टिम कुकले एप्पल भिजन प्रोका विषयमा बोल्दै उक्त नवप्रवर्तनलाई लिएर आफूले निकै आलोचनाको सामना गर्नुपरेको बताए । यो सुरुवाती प्रडक्ट भएकाले सीमित फिचरहरु मात्रै उपलब्ध रहेको उनको भनाइ छ ।

टिम कुकले स्मार्टफोनको आयु अझै पनि धेरै लामो रहेको भन्दै स्मार्टफोन भविष्यमा अझै लामो समयसम्म अस्तित्वमा रहने दाबी गरे ।

यद्यपि स्मार्ट फोन लगायतका ग्याजेटहरुको स्क्रिनमा मानिसहरुले अत्यधिक समय बिताउने गरेको विषयप्रति चिन्ता व्यक्त गर्दै उनले मानिसको आँखामा हेर्नुको साटो स्क्रिनमा धेरै हेर्ने कुरा एक ठूलो समस्याको रुपमा रहेको बताए ।

@एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *