Sunday, December 22

एप्पलमाथि आफ्नै कर्मचारीको जासुसी गरेको आरोप

प्रविधि क्षेत्रको दिग्गज कम्पनी एप्पलमाथि आफ्ना कर्मचारीहरुको जासुसी गरेको आरोप लागेको छ । एप्पल कम्पनीमा कार्यरत एक कर्मचारीले नै यस्तो आरोप लगाएका हुन् । अमर भक्ता नामक ती कर्मचारीले आइफोन तथा आइप्याडको माध्यमबाट एप्पलले आफ्ना कर्मचारीमाथि जासुसी गरेको गम्भीर आरोप लगाएका हुन् ।

सन् २०२० देखि एप्पलको डिजिटल विज्ञापन विभागमा कार्यरत भक्ताले सोही अभियोगमा एप्पलमाथि मुद्दा दायर गरेका छन् ।

गोपनीयताको अधिकारको हनन्

भक्ताका अनुसार एप्पलले आफ्ना कर्मचारीलाई उनीहरुको गोपनीयताको अधिकार छाड्नका लागि बाध्य बनाउँछ । एप्पल विरुद्ध दायर गरिएको अभियोगमा भनिएको छ : एप्पलले कर्मचारीहरुसँग यस्तो नीतिमा सहमति माग्दछ, जस अन्तरगत कम्पनीले कर्मचारीहरुका घरमा पनि भौतिक, भिडियो तथा विद्युतीय निगरानी गर्न सक्दछ । एप्प्लका कर्मचारीहरुका लागि एप्पल इकोसिस्टम एउटा बगैंचा होइन, यो एउटा जेलजस्तै छ, जहाँ हरेक पल उनीहरुको निगरानी गरिन्छ ।

एप्पलले आफ्ना कर्मचारीहरुलाई एप्पलद्वारा निर्मित उत्पादनहरुको प्रयोग गर्ने सल्लाह दिन्छ । तथापि अन्य डिभाइसहरुमाथि लगाइएका प्रतिबन्धहरुका बाबजुत कम्पनीको कामका कारण अधिकांश कर्मचारीहरु आफ्ना निजी डिभाइसहरुको प्रयोग गर्न बाध्य हुन्छन् ।

एप्पलको एक नीति अनुसार यदि कर्मचारीहरुले आफ्ना निजी डिभाइसको प्रयोग गर्दछन् भने उनीहरुका व्यक्तिगत अकाउन्टसँग समबन्धित कुनैपनि डेटा, जस्तै इमेल, फोटो, भिडियो, नोट्स आदि कुराहरु एप्पलद्वारा जाँचका लागि उपलब्ध हुन सक्दछन् । एप्पलले उसका कर्मचारीहरुलाई उनीहरुको कार्यस्थलको स्थिति, तलब तथा राजनीतिक गतिविधिहरुका बारेमा कुराकानी गर्नबाट रोक्ने गरेको आरोप पनि लगाइएको छ ।

भक्ताका अनुसार एप्पलले उसको डिजिटल विज्ञापनमा आफ्नो अनुभवको बारेमा पडकास्टमा बोल्नबाट पनि रोक्ने गरेको छ । साथै उनको लिंक्डइन प्रोफाइलबाट एप्पलमा गरेका कामसँग सम्बन्धित केही जानकारीहरु हटाउने आदेश पनि कम्पनीले दिएको उनको आरोप छ ।

@एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *