५ पुस, काठमाडौं । म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै टोटनहाम इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको रोमाञ्चक क्वाटरफाइनलमा टोटनहामले युनाइटेडलाई ४-३ गोलअन्तरले हराएको हो ।
टोटनहामको जितमा डोमिनिक सोलान्केले २ गोल गर्दा डेजान कुलुसेभ्स्की र सन ह्युङमिनले १-१ गोल गरे । युनाइटेडका जोसुआ जर्क्जी, अमाद दियालो र जोनी इभान्सले १-१ गोल गरे ।
खेलको १५औं मिनेटमा सोलान्केले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल मात्र भएपनि दोस्रो हाफ रोमाञ्चक बनेको थियो जहाँ थप ६ गोल भए ।
दोस्रो हाफको ४६औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ५४औं मिनेटमा सोलान्केले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहामलाई ३-० ले अगाडि राखे ।
तर ६३औं मिनेटमा जर्क्जीले गोल गर्दा ७०औं मिनेटमा दियालोले अर्को गोल थपेपछि युनाइटेड खेलमा फर्कने संकेत गरेको थियो ।
८८औं मिनेटमा सनले गोल गरेपछि टोटनहामको अग्रता फेरि बढ्यो । इन्जुरी समयमा इभान्सले गोल गरेपछि खेल ४-३ को अवस्थामा पुगेको थियो । त्यसपछि भने थप गोल भएन र टोटनहाम सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।
खेलमा कुल २० मौका सिर्जना गर्दै बल पोसेसनमा पनि अगाडि देखिएको युनाइटेडले आवश्यक फिनिसिङ भने गर्न सकेन ।
टोटनहामले अब फाइनल प्रवेशका लागि लिभरपुलसँग खेल्ने छ । लिभरपुलले पनि हिजोको खेलमा साउथह्याम्पटनलाई २-१ गोलअन्तरले हराएको छ ।