७ पुस, काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’ आयोजना हुने भएको छ ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा फेस्टिभल हुन लागेको हो ।
१४ देखि १५ पुस (२९–३० डिसेम्बर २०२४) सम्म आयोजना हुन लागेको ड्रागन बोट फेस्टिभलमा नेपालका ११, चीन ८ र सिंगापुरका एक गरी २० समूह सहभागी हुने आयोजकले जनाएको छ ।
२ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीयले १ हजार २ सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी सहभागी बाँकी १७ समूहलाई प्रतिसमूह ५ सय डलर प्रदान गरिने छ ।
ड्रागन बोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ । चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक २०२३ मा ड्रागन बोट फेस्टिभल सफलतापूर्वक आयोजना गरिएको थियो । चीनले यस खालका प्रतियोगिता विश्वका ५० देशमा आयोजना गर्ने गरेको छ । प्रतियोगिताले नेपाल र चीनका नागरिकबीच सुमधुर सम्बन्ध स्थापित हुनाका साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा छ ।
चिनियाँले मनाउने यस पर्वलाई २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेन्डरको पाँचौं महिनाको पाँच गते चीनमा ड्रागन बोट फेस्टिभल आयोजना हुन्छ ।
चीनका विभिन्न प्रान्तमा ३ देखि ७ दिनसम्म यस चाड मनाउने परम्परा छ । यो चाड मनाउन चीन सरकारले सार्वजनिक बिदा दिन्छ । चीनमा बालबालिकादेखि बुढाबुढीसम्मले हर्षोल्लासपूर्वक यो चाड मनाउँछन् । चिनियाँ भाषामा ‘डुआन्यु जी’ भनिने ड्रागन बोट फेस्टिभल चीनका चार ठूला चाडमध्ये एक हो । चीनमा ड्रागनलाई सकारात्मक शक्तिका रूपमा लिइन्छ ।
चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार पनि हो । २०१९ मा चीनबाट १ लाख ६९ हजार ५ सय ३४ र २०२३ मा ६० हजार ८ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०२४ जनवरीदेखि नोभेम्बरसम्म ९२ हजार ८ सय ४८ चिनीयाँ पर्यटक नेपाल आएका थिए ।