Wednesday, January 1

पाँच अर्ब लगानीमा जालपादेवी केवलकार निर्माण सुरु

पाँच अर्बको लगानीमा कैलाली जिल्लाको कर्णाली चिसापानीमा जालपादेवी केबलकार निर्माण सुरु भएको छ। परराष्ट्र मन्त्री आरजु राणा देउवाले लम्कीचुहा नगरपालिका ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको यहाँ आयोजित कार्यक्रमबीच शिलान्यास गरिन्।लम्की चुहा नगरपालिका ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन्।

कुल पाँच अर्ब रूपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्यांक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन्।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री देउवाले जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा अहम् भूमिका निर्वाह गर्ने बताइन्।

परराष्ट्र मन्त्री डा देउवाले भनिन्, ‘सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ। प्राकृतिक स्रोत एवं सम्पदाहरूले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ। यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरू विकासप्रेमी पनि छन्। सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार र होटलसहितको भव्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुनेछ।’

यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावना दर्शाउन पनि मन्त्री डा देउवाले सबैमा अपिल गरिन्। त्यसैगरी उनले आगामी दिनमा यो क्षेत्रका सम्भावना र आवश्यकता हेरेर यो क्षेत्रमा पर्यटन लगायतका पूर्वाधारहरूमा बढीभन्दा बढी लगानी गर्न पनि आग्रह गरिन्।

‘काठमाडौंको चन्द्रागिरिदेखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधार निर्माण गरिरहेको आइएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु। यहाँहरूको दक्षता, अनुभव र क्षमता अनुसार यो केबलकार प्रोजेक्ट समयमै सम्पन्न होस् भन्ने कामना पनि गर्दछु’, उनले भनिन्।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले निर्माण हुनलागेको केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्ने बताए।

उनले नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह गरे। ‘सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आधुनिक विकासका ठूला पूर्वाधारहरू निकै कम छन्। यस्ता पूर्वाधारका थप आयोजना लिएर हाम्रो क्षेत्रमा आउनुहोस्। हामी तपाईहरूलाई स्वागत गर्दछौं,’ उनले भने।

उनले वन विकासमा बाधक नभई सहयोगी बन्ने बताउँदै यस्ता विकासका पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न आग्रह गरे। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार अर्थात् कर्णाली चिसापानीमा निर्माण हुने यो केबलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जनात्मक पर्यटनलाई बढावा दिने बताए।

उनले सुदूरपश्चिम प्रदेशमा आउने लगानी र विकास आयोजनालाई हरसम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै बढीभन्दा बढी मात्रामा लगानी आकर्षित गर्ने काममा लाग्न लगानीकर्तालाई आग्रह पनि गरे।

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक पक्षमा मुलुकको कायापलट गर्न सम्भव रहेका बताए।

उनले भने, ‘पर्यटन पूर्वाधारमा लगानी गरेर मात्र लक्ष्यअनुसार पर्यटक भिœयाउन र पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ। यस्ता विकास कार्यले विदेशी मुद्रा आर्जन गर्न, रोजगारी सिर्जना गर्न, राजस्व उठाउन र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ।’

पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुने पनि ढकालले बताए।

ढकालले केवलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाई जालपादेवी केवलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए। यसको शिलान्यास र अबको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दल र नेपाल सरकारका निकायको सहयोग अन्य केवकार निर्माण क्षेत्रका लागि उदाहरण बन्न पुगेको पनि ढकालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *