Thursday, January 9

प्रधानमन्त्रीको आग्रह: मानिसलाई संगतले बिगार्छ, गलत संगतबाट टाढा रहनु

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई गलत व्यक्तिहरूसँग संगत नगर्न र समयको सदुपयोग गर्न आग्रह गरेका छन्।

आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले सही व्यक्तिहरूको संगतले व्यक्तित्वलाई अझै उज्ज्वल बनाउने बताए। “मानिस आफैँ बिग्रिँदैन, संगतले बिगार्छ,” उनले भने।

ओलीले पछिल्लो समय युवालाई भड्काउने गतिविधि बढेको उल्लेख गर्दै गलत व्यक्तिहरूको प्रभावबाट टाढा रहन र सकारात्मक सोचसहित जीवनको महत्त्वपूर्ण समयको सदुपयोग गर्नुपर्ने आवश्यकता औंल्याए। “मौरीको संगतले फूलबारीमा पुर्‍याउँछ, तर झिंगाको संगतले फोहोरमा,” उनले उदाहरण दिए।

कार्यक्रममा ओलीले नेकपा (एमाले) लाई देश बनाउने अभियानमा अगाडि बढेको पार्टीको रूपमा चित्रण गर्दै अन्य दलहरूले आफैं राम्रो हुन नसकेकाले एमालेलाई बदनाम गर्ने प्रयास गरेको टिप्पणी गरे।

कार्यक्रममा सन् २०२४ को मिसेस हेरिटेज इन्टरनेशनल विजेता विभा बस्नेतसहित धेरै व्यक्तिहरूले एमालेमा प्रवेश गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *