२७ पुस, काठमाडौं । वर्ष २०२५ को सुरुमै क्रिकेटको ठूलो प्रतियोगिता आइसीसी यू-१९ महिला टी२० विश्वकप मलेसियामा हुँदै छ । जहाँ १६ टोली उपाधि जित्ने प्रतिस्पर्धामा सामेल हुनेछन् ।
यू-१९ महिला विश्वकपको यो दोस्रो संस्करण हो र यो प्रतियोगिता यही जनवरी १८ मा सुरु हुनेछ भने फेब्रुअरी २ मा फाइनल खेल हुनेछ । तर केही टिमका लागि भने यात्रा लामो रह्यो ।
११ टोलीले सिधै विश्वकपमा स्थान बनाउँदा केही टोलीले भने मलेसियाको टिकट काट्न महिनौं प्रतिस्पर्धा गरे । अफ्रिका, एसिया, इस्ट एसिया प्यासिफिकमा क्षेत्रिय छनोटको आयोजना भएको थियो ।
विश्वकप खेल्न कुन टोली कसरी छनोट भए भन्ने विषयमा आईसीसीले तयार पारेको सामग्रीबाट साभार गरी यो लेख तयार गरिएको छ ।
सोझै छनोट भएका ११ टोली
२०२५ को विश्वकपका लागि ११ टिमले सिधै स्थान पक्का गरेको थियो । सुरुमा आयोजकको रुपमा मलेसियाले सिधै स्थान बनायो । मलेसियाले यू-१९ विश्वकपमा यसैपटक डेब्यु गर्दैछ । दुई वर्षअघि घरेलु मैदानमै भएको एसिया छनोटमा पराजित भएपछि मलेसियाले यू-१९ विश्वकप गुमाएको थियो ।
सन् २०२३ को पहिलो संस्करणमा खेलेका आईसीसीको १० फुल मेम्बर टोली मलेसियासँगै सिधै छानिएका हुन् । दक्षिण अफ्रिकामा गरेको प्रदर्शनमा आधारमा ती टोलीले स्वत: यस पटक विश्वकपमा स्थान सुरक्षित बनाएको हो ।
साविक विजेता भारतसहित साविक उपविजेता इंग्ल्याण्ड फेरि एकपटक यू१९ विश्वकपमा दाबेदारी प्रस्तुत गर्दैछन् । अस्ट्रेलिया र न्युजिल्यान्ड पहिलो संस्करणमा सेमिफाइनलमा पराजित भएका थिए । यीसँगै बंगलादेश, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज गत संस्करणमा सुपर सिक्समा स्थान बनाउँदै यसपटक सोझै छनोट भएका हुन् ।
अफ्रिका क्वालिफायर
अफ्रिका क्वालिफायरबाट विजेता बन्दै नाइजेरियाले विश्वकपमा स्थान बनायो । नाइजेरियाको कुनै पनि महिला क्रिकेट टिमका लागि यो पहिलो क्रिकेट विश्वकप अनुभव हुनेछ ।
शीर्ष डिभिजनको समूह ‘बी’ मा रहेको जिम्बावे, तान्जानिया र मालावीलाई पराजित गर्दै नाइजेरिया शीर्षस्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको थियो । नाइजेरियासँगै समूह ए मा तीनै खेल जितेको युगान्डा सेमिफाइनलमा पुग्यो । यस्तै रुवान्डा र जिम्बाबे पनि सेमिफाइनलमा पुगेको थियो ।
सेमिफाइनलमा नाइजेरियाले आयोजक रुवान्डालाई ६२ रनले हरायो भने जिम्बाव्वे अर्को फाइनलिस्ट टोली थियो । तर वर्षाका कारण दोस्रो इनिङ्सको खेल स्थगित भयो । यद्यपी समूह चरणमा जिम्बाबेलाई हराएको आधारमा नाइजेरिया विजेता बन्दै मलेसियामा हुने विश्वकपमा स्थान बनाउन सफल भयो ।
एसिया क्वालिफायर
एसिया क्वालिफायरमा चार टोलीबीच प्रतिस्पर्धा भएको थियो । डबल राउण्ड रोविनको आधारमा भएको छनोटमा नेपाल च्याम्पियन बन्दै विश्वकपमा पुगेको हो ।
नेपालले ६ मध्ये ५ खेल जितेको थियो । आयोजक यूएईसँगै समान अंक भएपनि राम्रो नेटरेटका आधारमा नेपाल शीर्ष स्थानमा रहँदै विश्वकपमा पुग्यो । नेपालले घरेलु टोली यूएईलाई एक पटक पराजित गर्दा थाइल्याण्ड र कुवेतलाई समान दुई पटक हराएको थियो ।
नेपाल र यूएईबीचको पहिलो खेलमा यूएई १३ रनले विजयी भएको थियो । तर अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई ८ विकेटले हराएर बदला लिँदै विश्वकप पुग्यो ।
दोस्रो खेलमा प्लेअर अफ दि म्याच भएकी कृष्मा गुरुङले १७ रन खर्चेर ४ विकेट लिएपछि नेपालले यूएईलाई ८३ रनमा रोकेको थियो र १४.४ ओभरमा उक्त लक्ष्य पूरा गर्दै नेपालले मलेसियाको टिकट काटेको थियो ।
इस्ट एसिया प्यासिफिक
इस्ट एसिया-प्यासिफिकबाट चार टोलीले यू१९ महिला टी२० विश्वकपमा पुग्न प्रतिस्पर्धा गरेका थिए । आयोजक इन्डोनेसियासँगै सामोआ, पपुवा न्युगिनी र फिजीले डबल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गरेका थिए ।
अन्त्यमा सामोआले ६ मध्ये ५ खेलमा जित हात पार्दै यू१९ विश्वकपमा स्थान बनायो । सामोआ पपुवा न्युगिनीसँग मात्र पराजित भएको थियो । तर पपुवा न्युगिनी तेस्रो स्थानमा रह्यो ।
सामोआले लिग चरणमा घरेलु टोली इन्डोनेसियामाथि दुवै खेलमा जित हात पारेको थियो । छनोटमा इन्डोनेसिया दोस्रो भयो । इन्डोनेसियाले सामोआलाई कम्तीमा पनि एउटा लेगमा हराएको भए विश्वकपको यात्रा गर्ने थियो ।
पहिलो खेलमा सामोआले इन्डोनेसियालाई २ विकेटले पराजित गरेको थियो । त्यसपछि दोस्रो खेलमा सामोआले इन्डोनेसियालाई ८ रनले पराजित गरेको थियो ।
यूरोप
नेदरल्याण्ड्स विरुद्धको तीन खेलको सिरिज जित्दै स्कटल्याण्डले आईसीसी यू-१९ महिला टी२० विश्वकपमा स्थान बनाएको हो । अबरडिनमा भएको तीनवटै खेलमा स्कटल्याण्ड विजयी भएको थियो ।
पहिलो खेलमा स्कटल्याण्डले डच टोलीलाई १० विकेटले हरायो । यस्तै दोस्रो खेलमा ६ विकेटको जित निकालेको स्कटल्याण्डले तेस्रो खेलमा ६४ रनको जित हात पारेको थियो ।
अमेरिकाज
संयुक्त राजय अमेरिकाले सिधै आईसीसी यू-१९ महिला टी२० विश्वकपमा स्थान बनाएको हो । आवश्यक मापदण्ड पूरा गर्ने एउटै मात्र राष्ट्र भएकाले अमेरिकाले सिधै विश्वकपमा स्थान बनाएको हो ।
सन् २०२३ मा भएको पहिलो संस्करणमा समूह ए मा चौथो स्थानमा रहेको अमेरिका दोस्रो पटक यू-१९ महिला विश्वकप खेल्दैछ । त्यसबेला चौथो स्थानको प्लेअफमा अमेरिका स्कटल्यान्डसँग पराजित भएको थियो ।