Sunday, January 12

अध्यादेशबाट ल्याउने विधेयकको विरोध गर्छौं : माओवादी प्रमुख सचेतक पाण्डे

२८ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेत पाण्डेले संसदमार्फत नै सरकारले विधेयकका कामहरू अगाडि नबढाए विरोध गर्ने बताएका हुन् ।

अध्यादेशमार्फत ल्याइएका विधेयकहरू जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने पनि बताए ।

‘संसद्लाई यसरी छल्ने कुरा सरकारका लागि बेठिक छ । हामीले यसको विरोध गरेका छौं,’ प्रमुख सचेतक पाण्डेले भने, ‘यो सरकारले ६ महिनासम्म जनताको बारेमा केही गर्न सकेको छैन । हाम्रो अहिले सरकार बनाउने प्राथमिकता होइन ।’

कांग्रेस–एमाले समीकरणको सरकारले जनताको हित हुने काम गर्न नसकेको समेत आरोप लगाउँदै उनले माओवादी केन्द्र जनतासँग जोडिने अभियान रहेको उल्लेख गरे ।

‘अहिले धेरै विधेयकहरु पारित भएका पनि छैनन् । अनि हामी निरन्तर समितिहरूमा छलफल गरेर छिटो समितिबाट सभामा लैजानुपर्छ भनेका छौं,’ उनले भने, ‘सरकारले जसरी अध्यायदेशबाट विधेयकहरू ल्याइरहेको छ, यो बेठिक छ । यसले ठिक ढंगले जनताका आवाजहरूको सम्बोधन गर्न सक्दैन ।’

आफ्नो पार्टी सरकारतिर नभइ जनतातर्फ फर्कन चाहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *