काठमाडौँ । विपक्षी दलको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध साधेर निरन्तर दमको शैली अपनाएको ठहर गरेको छ ।
बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा पार्टी सभापति रवि लामिछानेको विषयमा छलफल भएको रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिए ।
उनले समान किसिमको घटनामा सत्ता घटक दल निकट रहेकाहरूलाई बिहान अदालत लगेर साँझ छाड्ने गरेको तर‚ सभापति लामिछानेमाथि प्रतिशोध साधिएको ठहर बैठकले गरेको बताए ।
‘सहकारीको विषयमा कसैलाई बिहान अदालतमा ल्याएर साँझ छोडेको छ । सञ्चालकहरूलाई पनि त्यसरी छाडेको छ । रविजीमाथि राज्यको प्रतिशोध हो । यस किसिमको दमन व्यवहार गर्नुहुँदैन भन्ने बैठकको निष्कर्ष रह्यो‚’ उनले भने ।