काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीका अवकाशप्राप्त विद्यार्थी नेताहरूलाई व्यवस्थापन गर्न बनेको अध्ययन कार्यदलले प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । पुस (२१–२३) मा सम्पन्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा फ्याक्सन इन्चार्ज हिमाल शर्मा र निवर्तमान अध्यक्ष पञ्चा सिंह रहेको तीन सदस्यीय व्यवस्थापन अध्ययन कार्यदल गठन गरेको थियो ।
बैठकले ३२ वर्ष उमेर हद लागेका विद्यार्थी नेताहरूलाई पार्टीको विभिन्न समितिमा व्यवस्थापन गर्ने भनिएको छ । केन्द्रीय समिति बैठकको निर्णय बमोजिम अध्ययन प्रतिवेदन अन्तिम चरणमा पुगेको इन्चार्ज शर्माले रातोपाटीलाई जानकारी दिए । शर्माका अनुसार कार्य क्षेत्र र दिइने जिम्मेवारीलाई केन्द्र बिन्दु बनाएर अध्ययन प्रतिवेदन तयारी हुने उनले बताए ।
‘हामीले अवकाशप्राप्त विद्यार्थी नेताहरूलाई पार्टीभित्र कुन जिम्मेवारी दिने र क्षेत्र विभाजन के हुने भन्ने दुई विषयमा अध्ययन प्रतिवेदन तयारी हुँदैछ । उहाँहरूले भूगोलमा काम नगरेकाले समस्या हुने देखिन्छ । धेरैको रोजाइ अहिले पालिका रहेको छ । पार्टीको विभागमा पनि जिम्मेवारी दिन सकिन्छ । यसै विषयमा केन्द्रित रहेर प्रतिवेदन तयार हुँदैछ । सायद बेलुका वा भोलिसम्म प्रतिवेदन बुझाउँछौँ होला’, शर्माले भने ।
यस्तै उनले तोकिएकै समयमा निर्वाचन गर्न गृहकार्य भइरहेको जानकारी दिए । शुक्रवार सम्ममा निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम भइरहेको शर्माले जिकिर गरे ।
निर्वाचन समितिले पुस १३ र १७ गते दुई चरणमा निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । पहिलो चरणमा ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने सम्बन्धी निर्वाचनमा उमेर हद पक्षधर विजयी भएपछि खुला पक्षधरले धाँधली भएको आरोप लगाउँदै आएको छ । धाँधलीबारे निष्पक्ष छानबिन नभएसम्म निर्वाचन प्रक्रिया अगाडि बढाउन नदिने उनीहरूले चेतावनी दिँदै आएका छन् ।
पुस १७ गते हुने भनिएको नेतृत्व छनोट प्रक्रिया शनिवारबाट सुरु हुँदैछ । नयाँ नेतृत्वका लागि माघ १२ गते निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।