Monday, December 23

रेडियो नेपालको आयोजनामा पर्व विशेष धुन प्रस्तुत

काठमाडौं । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)ले पर्व विशेष धुन प्रस्तुत गरेको छ ।

सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी रेडियो नेपालले विभिन्न धुन प्रस्तुत गरेको हो । कार्यक्रममा पर्व विशेष मंगल धुन, देउसी धुन, नेपाल संवत् धुन, छठ धुन र भैलो धुन प्रस्तुत गरिएको थियो ।

मनराजा नकर्मी, बद्री विशाल तण्डुकार, डा. निरञ्जन भण्डारी, न्हुछे मर्हजन, सुनिल बर्देवा, नवराज गुरुङ, दिपक सुनाम, हरिशंकर चौधरी, खड्ग गर्बुजा, खड्ग गन्दर्भ र रुबिन गन्दर्भलगायतले धुन प्रस्तुत गरेका हुन् ।

यस्तै कोरसमा निर्मला घिसिङ, सुखकला राई, हरिशंकर चौधरी, प्रज्वल खड्का, सितु मानन्धरको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले नेपाली गीत संगीतको श्रीवृद्धिमा रेडियो नेपाल सधै अग्रपङिक्तमा उभिने बताए ।

निर्देशक लामाले आगामी दिनमा नेपाली समुदायमा प्रचलित सबै पर्वका धुन निर्माण गरी सबै समुदायको अपनत्व र अर्थपूर्ण सहभागिता सुनिश्चित गरिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा प्रस्तुत गरिएका धुन रेडियो नेपालको युट्युब च्यानलमा उपलब्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *