Monday, December 23

एन्फालाई एएफसीको गोल्ड अवार्ड

१४ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त गरेको छ ।

एएफसीले वार्षिक अवार्ड कार्यक्रममा मंगलबार एन्फालाई गोल्ड क्याटेगोरी अन्तर्गत मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त गरेको एन्फाले जनाएको छ ।

दक्षिण कोरियाको क्युङ हि युनिभर्सिटीको ग्राण्ड पिस प्यालेसमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले उक्त अवार्ड ग्रहण गरे ।

एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अन्तर्गत प्लाटिनम क्याटेगोरीको अवार्ड जापान फुटबल संघ र डायमण्ड क्याटेगोरीको अवार्ड थाइल्याण्ड फुटबल संघले प्राप्त गर्‍यो । यस्तै रुबी क्याटेगोरीको अवार्ड लाओस फुटबल संघले पायो ।

एएफसी रिजनल एसविएसन अफ दि इअरको अवार्ड सेन्ट्रल एसियन फुटबल एसोसिएसन (काफा)ले प्राप्त गर्‍यो ।

पछिल्लो समय नेपालमा ए डिभिजन र बी डिभिजन लिग फुटबल हुन सकेको छैन भने राष्ट्रिय टिमका खेलाडीहरु पनि विदेश पलायन भइरहेका छन् । यस्तोमा एन्फाले एएफसीबाट अवार्ड प्राप्त गर्दा धेरैलाई आश्चर्य समेत लागेको छ । तर एन्फाले भने फिफा र एएफसीको सिद्धान्तहरू अनुरूप आफ्नो विधान र संहिता विकास गरी सुशासनको उच्चतम स्तर कायम गरेकाले अवार्ड प्राप्त गरेको जनाएको छ ।

एएफसीको वार्षिक अवार्ड कार्यक्रममा वर्षको उत्कृष्ट खेलाडी प्रशिक्षक लगायत विभिन्न अवार्ड वितरण गरिएको थियो ।

कतारका अक्रम अफिफले पुरुषतर्फ एएफसी प्लेअर अफ दि इअर अवार्ड पाए भने महिलातर्फ जापानकी किको सेइकेले अवार्ड प्राप्त गरिन् । यस्तै एएफसी कोच अफ दि इअर पुरुषतर्फ जापानका गो ओइवा तथा महिलातर्फ दक्षिण कोरियाका पार्क योङ जोउङले पाए ।

फिफा अध्यक्ष जियानी इन्फान्टिन्होलाई एएफसी डायमण्ड अफ एसिया सम्मान प्रदान गरियो । एएफसी एसियन कप होस्ट अप्रेसिएसन अवार्ड कतार फुटबल संघ र एएफसी प्रेसिडेन्ट रिकगनिसन अवार्ड फर आउटस्ट्यान्डिङ कन्ट्रिबुसन साउदी अरेबियन फुटबल महासंघलाई प्रदान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *