१४ कात्तिक, पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुदमन्त्री विन्दुकुमार थापा मन्त्रीहरुमध्ये सबैभन्दा धनी देखिएका छन् । मुख्यमन्त्रीसहित मन्त्रीहरुले आज सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार मन्त्री थापासँग श्रीमती, छोरा र कम्पनीको नाममा प्रशस्त घरजग्गा र शेयर छ । व्यापारिक पृष्ठभूमिबाट आएका मन्त्री थापाको श्रीमती मनलक्ष्मी थापाको नाममा मात्र अर्बौं पर्ने घरजग्गा १९ ठाउँमा छ ।
थापाकै अर्की श्रीमती राधा थापा क्षेत्रीको नाममा १३ ठाउँमा घरजग्गा छ । छोरा सौगातका नाममा १० ठाउँमा शेयर र विभिन्न सम्पत्ति छ भने थापाको विभिन्न कम्पनि, होटल, रिसोर्ट, अटोमा लगानी छ । थापाले पोखरा महानगरपालिकाका ८, ९, १७, २८, २९, ६ नम्बर वडामा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
विन्दुकुमारको नाममा नयाँ बजारमा भव्य ३ घर छन् । पोखरामा ३ वटा होटल तथा रिसोर्ट र २ वटा ब्यापारिक भवन छन् । उनले पोखरामा पोखरा बुटिक होटल प्रालि, बगैंचा रिसोर्ट र रोयल हिमालयन रिसोर्ट प्रालि सञ्चालन गरेका छन् ।
त्यस्तै सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर प्रालिलगायतका व्यापारिक भवन पनि छन् । पोखराकै ठूलो मल मध्यमा पर्ने पोखरा ट्रेड मलको मुख्य लगानीकर्ता पनि उनै हुन् ।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका थापाले विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् । मेगा बैंकसँग मर्ज हुनु पहिले थापा पोखराको विश्व विकास बैंकका अध्यक्षसमेत थिए । थापा मेगा बैंकको संस्थापक शेयर धनी पनि हुन् ।
थापासँग अघिल्लो कार्यकालमा भन्दा सुनको मात्रा पनि बढेको छ । अघिल्लो कार्यकालमा कानुनमन्त्री हुँदा उनीसँग ९० तोला सुन रहेकोमा अहिले १६० तोला पुगेको छ । ७५० तोला चाँदी र २० तोला हिरा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
थापासँग २ करोड, १ करोड १२ लाख र १ करोड १६ लाख रुपैयाँका ३ वटा विभिन्न कम्पनीका गाडी छन् । थापाको लुम्विनी विकास बैंकमा ५६ लाख र एनएमबी बैंकमा ६ करोड ६३ लाखको शेयर छ ।
थापाले मेगा बैंकको ४ लाख, ६८ हजार ५६ कित्ता, सेन्चुरी कमर्सियल बैंकको ९१ हजार ३ सय ६७ र सिद्धार्थ बैंकको ४३ हजार ७ सय ७८ कित्ता सेयर अघिल्लो सम्पत्तिमा खुलाएका थिए । यसपटकको सम्पत्ति विवरणमा भने त्यो शेयरबारे उल्लेख छैन ।
थापाले एनएमबी बैंकमा १२ करोड ३१ लख, ग्रिन डेभलपमेन्ट बैंकमा १२ करोड ५० लाख, पोखरा फाइनान्समा ८५ करोड, मनोहरजंग राणाबाट ९४ लाख ९५ हजार, अनिता थापाबाट ५५ लाख र ३० लाख रुपैयाँ ऋण लिएको खुलाएका छन् ।