Monday, December 23

नेता शाहीको नेतृत्वमा ‘मेची–महाकाली युवा संकल्प अभियान’ हुँदै

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसका नेता भूपेन्द्रजङ्ग शाहीसहितको टोलीले एक महिने मेची–महाकाली यात्रा गर्ने भएको छ ।

देशमा व्याप्त भ्रष्टाचार उन्मुलन र सुशासनको ग्यारेन्टीका लागि दबाब दिन अभियान सञ्चालन गर्न लागिएको बताइएको छ ।

यस्तै, महँगी र मूल्यवृद्धि नियन्त्रणका लागि दबाब दिइनुकै साथै युवालाई रोजगारीको सुनिश्चितता लगायतका एजेन्डा राखेर यात्रा गर्न लागिएको अभियानको संयोजक शाहीले बताए ।

उनले दिएको जानकारी अनुसार संकल्प यात्रा छठ पुजाको भोलिपल्ट अर्थात् कार्तिक २३ गतेदेखि आरम्भ हुनेछ ।

‘युवा संकल्प यात्रा झापाको मेचिनगरबाट सुरु भएर सुदूरपश्चिमको महेन्द्रनगरमा सम्पन्न हुन्छ । हामी यो बिचमा २२ देखि ४ जिल्लाहरू सबै ठाउँमा कार्यक्रम गर्छौँ‚’ शाहीले भने‚ ‘कांग्रेसका उमेर बिचार र काम गर्ने जोशले जति पनि युवाहरू हुनुहुन्छ सबैलाई समेटिनेछ ।’

अभियानको अवसरमा राजनीतिक स्थिरता तथा नैतिक मूल्यमान्यताको राजनीति कसरी गर्ने र राजनीतिमा युवाको भूमिका र सक्रियता कसरी बढाउने भन्ने विषयमा छलफल हुने उनले जानकारी दिए । युवा संकल्प यात्रा पूर्वपश्चिम राजमार्ग केन्द्रित रहने र राजमार्गमा पर्ने पूर्वदेखि पश्चिमसम्मका सबै जिल्लाका चोक–चोकमा जनताका कुरा सुन्ने र आफ्ना कुरा पनि सुनाउने योजना बनाएको उनले बताए । कार्यक्रम लिएर जाँदा पार्टीको आन्तरिक विषयमा केही छलफल नहुने भन्दै उनले सम्पूर्ण ध्यान राष्ट्रिय मुद्दामा युवाको सहभागिता केन्द्रित हुने बताए । यसका लागि सबै पार्टीका र आम नागरिकसँग भेटेर समस्या तथा सुझावहरू सुन्ने र संकलन गरिने उनले जानकारी दिए ।

यात्रामा ४० देखि ५० जनाको टोली जाने उनले बताए । जसमा युवा नेताहरू धमेन्द्र नेम्वाङ‚ शेख वकिल‚ प्रेमिका राना‚ नरेश यादव‚ चन्द्रा देवी जोशी लगायत रहेका छन् । यस्तै राष्ट्रिय कलाकारहरू राधिका हमाल‚ उदिराम खड्का‚ सुनिल थापा‚ लेलिया विश्वकर्मा पनि जाने र उनीहरूले युवामैत्री सन्देशमूलक गीतहरूको माध्यमबाट सांस्कृतिक प्रस्तुति दिने उनले जानकारी दिए ।

‘सहकारीको विषय छ‚ नवप्रवर्तन तथा कृषिमा लगानी वृद्धि जस्ता यावत् विषयवस्तुमाथि संकल्प यात्रामा छलफल गर्दै आमनागरिकका गुनासा तथा सुझाव लिनेछौँ,’ उनले भने‚ ‘यात्रा एक महिनासम्म चल्नेछ । हामी धेरै धेरै सुझावहरू सुन्ने र त्यसलाई दस्ताबेज गर्ने लक्ष्यका साथ फिल्डमा पुग्नेछौँ ।’

यात्राको विषयमा पार्टी सभापति शेरबहादुर देउवा‚ नेता शेखर कोइराला लगायत पदाधिकारीहरूलाई जानकारी गराइसकेको उनको भनाइ छ । शाहीका अनुसार संकलन भएका सुझावहरू पार्टीलाई बुझाउने र समय मिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बुझाउने तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *