Monday, January 13

एक महिना त्यसै बित्यो, बाढी पीडितलाई स्थायी बासस्थानको आशा

१६ कात्तिक, धुलिखेल । बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नगरपालिका वडा नं १२ रोशी बजारका गीता केसी छिमेकीको घरमा बस्दै आएकी छन् ।

भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ कि भन्ने आशामा बस्दै दिनगन्ति गरेको एक महिना बढी भयो ।

राज्यले बासस्थान बनाइदिने भन्ने कुराले मनमा आश पालेर बसेका बाढीपहिरो पीडितको एक महिना त्यत्तिकै बितेको छ । तर अहिलेसम्म उचित व्यवस्थापन समेत नगरेको उनको गुनासो छ ।

पाँच रोपनी जग्गामा लहलह झुलेको धान सबै सखाप हुनेगरी नजिकै रहेको घरबारसंगै बाढीले बगाएपछि अहिले उनीहरु छिमेकीको घरमा रात विताउँदै आएको छ ।

‘खोलाको बाढीले ल्याएर थुपारेको ढुंगा, दाउरा र काठ पन्छाएर भएपनि अन्न फलाउने खेत त बनाउनै पर्‍यो’, यत्रतत्र छरिएका काठ र दाउरा टिप्दै केसीले भनिन्, ‘आफ्नो भएको जग्गा नै यही हो, अरु विकल्प केही छैन ।’

बाढीपछि खाद्यान्न चाहिँ अलिअलि पाइरहेको र केही दिनअघि जस्तापाता पनि पाएको उनले बताइन् । सरकारले छिट्टै बास बस्ने ठाउँको व्यवस्थापन गरिदिए बाढीले बगाएर खोलासंगै धमिलिएको मन केही भएपनि सफा हुने केसीको भनाइ छ ।

बाढीले ढलाएको घर हेर्दै खोलाको बगरमाथि त्रिपालमा सुकाएको धान सफा गर्दै रहेकी माथिल्लो रोशी बजारका मनकुमारी तामाङले खाने र बस्ने स्थानको सुनिश्चितताको आशामा दिन बितिरहेको बताइन् ।

पनौतीमा कोठा लिएर बस्दै आएका उनीहरु घर नै नभएपछि त्यहीँ नजिक रहेको जस्ताको सानो टहरामा धान भित्र्याउने सुरसारमा छन् । ‘सधैं त कोठा लिएर बस्न सकिदैन’, उनले भनिन्, ‘अब कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको छ ।’

खेती किसानी गरेर जीविको चलाउँदै आएका परिवारको आम्दानीको रुपमा रहेको फर्निचर उद्योगसमेत घरसंगै बाढीले बगाएपछि एक महिनादेखि घर न कामको जीवन बिताइरहेको उनले सनाइन् ।

अर्का स्थानीयबासिन्दा मैना तामाङले घर ढलेको पीरसंगै खल्लो गरी बिताएको दशैं पर्व सकिए लगतै तिहार नजिक आएपनि घरबार र खाने कमाउने कुनै टुंगो नभएको सुनाइन् ।

सोही ठाउँका नवराज गुरुङ गाउँका युवाहरुलाई ज्यालामा लगाएर बाढीले थुपारेको गेग्रानहरु पन्छाउन थालेका छन् । यसअघि खोलाको बाढी र काम गर्ने मान्छे पनि नपाएको अवस्था रहेकोमा विस्तारै पुरिएको बासस्थान व्यवस्थित गर्न लागेको उनले बताए ।

‘बल्ल मान्छेहरुलाई केही फुर्सद हुन थालेपछि पुरेको ठाउँलाई सफा गरेर भल कटाउने ठाउँ बनाउन थालेको हुँ’, उनले भने ।

दुई तले घर बगाएपछि विचल्लीमा रहेको शंकर तामाङ छिमेकीको घरमा बस्दै आएका छन् । बस्ने घर बनाउन पैसा नै नभएको र खाने अन्नपात संघ संस्थाले वितरण गरेकोबाट चलाइरहेका उनी राज्यले सुरक्षित बस्ने ठाउँको व्यवस्थापन गरिदिने आशामा रहेको बताउँछन् ।

सोही गाउँका अर्का रवीन्द्र नगरकोटीले बाढीपहिरो गएको एक महिना बितिसक्दा पनि के कस्तो समस्या छ र खाने बस्नेको अवस्था के कस्तो छ भनेर स्थानीइ सरकार एक पटक पनि सोध्न नआएको गुनासो गरे ।

सबैचिज बगाएपछि बालबालिकाहरुको पढ्ने ठाउँ र बस्ने स्थानको सुनिश्चितता नभएर समस्यामा परेको उनको भनाइ छ ।

स्थानीय राजेन्द्र केसीले व्यक्तिको घरबारी र खेत सबै बगाएपछि विचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन गर्न अपरिहार्य रहेको बताए ।

‘विपद्पछि उद्धार र राहतसंगै बाटोघाटो त बन्यो, तर उहाँहरुलाई त्यसले खासै छोएको छैन’, उनले भने, ‘सुरक्षित तरिकाले बस्ने आवास छैन, कमाई खाने ठाउँ छैन । राज्यले यहीको भूगोललाई छनौट गरेर एकीकृत रुपमा बस्ने आवासको बस्ती व्यवस्थापन गर्न आवश्यक छ ।’

बस्ने घर नै नहुँदा बालेको विजुली, पुर्‍याएको मोटरबाटो र खानेपानी कसरी उपभोग गर्ने ? ति सबैले नछोएको मनलाई सुरक्षित आवासले मात्रै छुनसक्ने भएकाले राज्यले अब त्यसमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

पनौती नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष जयराम केसीले यहाँका नागरिकको लागि बगरमा बाढीको र डाँडापाखामा पहिरोको डर भएकाले व्यवस्थित एवं एकीकृत बस्ती विकासतर्फ नै सोच्दा उचित हुने बताउँछन् ।

यसमा संघीय सरकारको सहयोगको अपेक्षामा रहेकाले नागरिकको आवास व्यवस्थापनमा ढिलाई भइरहेको उनको भनाइ छ । अब वडाले बासस्थानको लागि उचित ठाउँको अभाव भएको कारण तिहारपछि जनप्रतिनिधिको बैठक बसेर आवास व्यवस्थापनको लागि आवश्यक कदम चाल्ने उनले बताए ।

वडाभित्रमा ५ जनाको मृत्यू भएको र ३०० भन्दा बढी घरहरुको पूर्ण क्षति भएको छ । जसमा ७० भन्दा बढी गाईभैंसी, पाँच हजार भन्दा बढी कुखुरा र २०० भन्दा बढी खसीबोकाहरु पुरिएको छ । अझै विवरणहरु संकलन भईरहेको र सडक, विद्युत, खानेपानी लगायतका कामलाई व्यवस्थित गर्दै अगाडी बढिरहेको वडा कार्यालयले जनाएको छ ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पहिलो आवश्यकता आवास भएकाले बस्ने ठाउँको व्यवस्थापन गर्न सकेको अवस्थामा बस्तुभाउ पालेर पुनःजीवनयापनलाई विस्तारै पुरानै लयमा फर्काउन सकिने बताए ।

अगामी दिनमा सर्वसाधारणले विपत्ती सहन नपरोस् भन्नका लागि पनि राज्यले सुरक्षित रुपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक रहेको र यसमा ‌संघीय सरकारबाटै पहल हुनुपर्ने नगर प्रमुख भण्डारीले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले तत्कालका लागि खाद्यान्न लगायतका आवश्यक सामग्री विभिन्न संघ/संस्थाहरुले वितरण गर्ने गरिरहेको बताए ।

नगद सहयोग वितरणमा ५ जनासम्मको परिवार भएकोलाई १५ हजार र त्यसभन्दा बढी भएको परिवारलाई २० हजारका दरले वितरण गर्ने निर्णय उनले जानकारी दिए ।

बासस्थान निर्माण गर्ने विषयमा जोखिमयुक्त बस्तीको भौगोलिक अवस्था अध्ययनका लागि राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्रधिकरण र शहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *