Tuesday, December 24

कृषि विश्वविद्यालयमा भेटेरिनरी संकायमा अध्ययनका लागि ५० कोटा थप

२१ कात्तिक, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायमा विद्यार्थीहरुलाई अध्ययनका लागि ५० कोटा थप गरिएको छ ।

यसअघि, विश्वविद्यालयले सो संकायमा ५० जना विद्यार्थी मात्रै भर्ना गर्दै आएकोमा शैक्षिक सत्र २०८१/०८२ देखि भने १०० जना विद्यार्थी भर्ना गर्न पाउने भएको हो ।

संकायका डीन प्रा.डा. होमबहादुर बस्नेतले नेपाल भेटेरिनरी काउन्सिलबाट थप ५० सिटका लागि अस्थायी मान्यता लिएर विद्यार्थी भर्नाका लागि सूचना प्रकाशन गरिएको जानकारी दिए ।

संकायले कात्तिक १३ गते मंसिर १३ गतेसम्म योग्यता पुगेका विद्यार्थीले विभिन्न कोटामा आवेदन दिन सक्ने डीन बस्नेतले बताए ।

विश्वविद्यालयले साविक ५० कोटामा मेरिटका आधारमा २०, प्रादेशिक ७, छात्रा २, दलित १, आदिवासी जनजाति १, मधेशी १, द्वन्द्वपीडित र शहीद परिवार १ अपाङ्ग १, स्टार्फकोटा पूर्ण छात्रवृत्तिमा १, स्टाफ कोठा सहुलियत शुल्कमा १, स्थानीय कोटा २ सहित शुल्क लिएर १४ जना १४ जना विद्यार्थी भर्ना लिदै आएको थियो ।

विश्वविद्यालय विकास कोष कोटाअन्तर्गत अध्ययन गर्ने १४ विद्यार्थीले ५ वर्षको ६ लाख बुझाउनुपर्छ । अहिले थप गरिएका ५० कोटामा अध्ययन गर्ने विद्यार्थीले ५ वर्षे कोर्षको १२ लाख रकम बुझाउनुपर्ने डीन बस्नेतले जानकारी दिए । त्यसलाई किस्ताबन्दीमा तिर्नुपर्ने व्यवस्था संकायले गरेको छ ।

नेपाल भेटेरेनरी काउन्सिलका रजिष्ट्रार डा.रामकुमार मण्डलले त्रिवि, एएफएयू तथा पूर्वाञ्चल विश्वविद्यालयका नीजि कलेजहरुको अनुगमन पछि न्यूनत्तम मापदण्ड पूरा गरेका कलेजहरुलाई भर्ना आब्हानका लागि अनुमति प्रदान गरिएको बताए । ‘त्रिवि र पूर्वाञ्चलका कलेजहरुले थप कोटा पढाउने न्यूनतम मापदण्ड पनि पुरा गरेको देखिएन, एएफयूले मापदण्ड पुरा गरेको देखेर ५० कोटा थप गरियो, यो अस्थायी हो,’ रजिष्ट्रार मण्डलले भने, ‘एक बर्षभित्र केही अपुग कुराहरु पूरा गर्ने सर्तमा थप ५० जना पढाउन सक्ने अनुमति दिएका हौं ।’

उनले एएफयूको जनशक्ति र पूर्वाधार पहिलाको भन्दा धेरै राम्रो भएकोले अनुमति दिएको बताए ।

काउन्सिलले मान्यता दिएका साविक ५० कोटाको विद्यार्थी भर्ना गरेपछि मात्रै थपिएको ५० कोटामा भर्ना गरिने डीन बस्नेतले जानकारी दिए । सोही संकायले मत्स्य विज्ञानका २१ सिटमा विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको छ ।

मत्स्य विज्ञान अध्ययन गर्ने विद्यार्थीले ३ लाख १० हजार बुझाउनुपर्छ । विश्वविद्यालय कायममुकायम उपकुलपति तथा रजिष्ट्रार प्रा.डा.शारदा थपलियाले पशु विज्ञान, पशु चिकित्सा पढ्न खोज्ने विद्यार्थीहरुको संख्या धेरै हुने तर कोटा कम हुँदा पर्याप्त जनशक्ति उत्पादन गर्न नसकिएको पृष्ठभूमिमा लामो समयको प्रयास पछि ५० जनाको कोटा थप गर्न सफल भएको बताइन् ।

विभिन्न स्थानीय तह, प्रदेश सरकार तथा केन्द्रीय सरकारका विभिन्न निकायमा पशु विज्ञान तथा पशु चिकित्साको ठुलो जनशक्ति माग रहेको तर सो मागको अनुपातमा विद्यार्थीहरुको उत्पादन निकै कम भएको बताइन् । त्यसलाई परिपूर्ति गर्नका लागि काउन्सिलबाट अस्थायी मान्यता लिएर भर्ना आह्वान गरिएको थपलियाको भनाइ छ ।

भेटेरिनरी शिक्षाको गुणस्तर बढाउनस्तरीय ल्याब, स्मार्ट कक्षा कोठा तयार गर्ने काम भैरहेको तथा नयाँ भेटेरिनरी अस्पताल निर्माणका लागि टेण्डरसमेत खुला गरिएको उनले जानकारी दिइन् ।

अहिले त्रिभुवन विश्वविद्यालयले ५० कोटामा कपिलबस्तुको पक्लिहवामा, पूर्वाञ्चल विश्वविद्यालयले दिएको नीजि सम्वन्धनका दुई कलेजहरु हिकाष्ट काठमाडौं र पोलिटेक्निक कलेज चितवनले ५०/५० कोटामा भेटेरीनरी पढाउँदै आएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको आफनो कलेज विना नै निजी कलेजलाई सम्वन्धन दिएर विद्यार्थी भर्ना लिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *