Wednesday, December 25

कमला नदीमा भूत मेला

३० कात्तिक, काठमाडौं । धनुषा र सिराहाको सीमामा बग्ने कमला नदीमा आज कात्तिक पूर्णिमा मेला लागेको छ । आज बिहानैदेखि कमला नदीमा स्नान गर्न आएका श्रद्धालुको भिड छ । यसलाई भूत मेला पनि भन्ने गरिन्छ ।

हिजो साँझदेखि नै विभिन्न गाउँबाट धामी–झाँक्रीसहित आएका स्थानीयहरु सिराहा र धनुषाको सिमानामा पर्ने कमलाको उत्तरवाहिनी, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वा लगायतका घाटमा पुगेका छन् ।

कात्तिक शुक्ल पूर्णिमाको दिन कमलामा स्नान गर्नाले भूत, बैताल तथा देवी–देवताको गुहान गर्दा विभिन्न समस्याबाट छुटकारा पाइने जनविश्वास छ । धामी–झाँक्रीहरुले आजको दिन भूत र कुल देवताको पूजा गर्ने परम्परा रहेकाले यसलाई धामी–झाँक्री र भुत मेला पनि भन्ने गरिन्छ । नयाँ धामी–झाँक्रीले आजको दिन कमला स्नान गर्दा तन्त्र–मन्त्रमा सिद्ध पाउने विश्वास छ ।

स्नानपछि भक्तजनहरु कमला नदीको शुद्ध पानी घरमा लिएर फर्किन्छन् । यो पानीलाई जमिनमा छर्केर पूजा गर्दा शुद्धता मिल्ने जनविश्वास छ । यस दिन कमलामा स्नान गरे दुःख, कलेश र पापबाट मुक्ति पाइने विश्वास सर्वसाधारणमा रहेको छ ।

यस मेलामा सहभागी हुन भारतबाट पनि ट्याक्टर, बस र जीपमा श्रद्धालुहरुको आगमन हुने गर्दछ। अहिले लाखौंको संख्यामा श्रद्धालुहरुले कमला नदीमा स्नान गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *