Wednesday, December 25

हेटौंडा-१२ को वडा अध्यक्षमा १४ जनाको उम्मेदवारी

२ मंसिर, हेटौंडा। हेटौंडा उपमहानगरपालिका-१२ को वडाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका आइतबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवार गरी १४ जनाले मनोनयन दर्ता गराएको कार्यालयका कमल सञ्जेलले जानकारी दिए ।

२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट वडा अध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त पदमा १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । घलान माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

वडा अध्यक्ष पदका लागि नेकपा एमालेबाट राजेश नगरकोटीले उम्मेदवारी दर्ता गराए । बखानसिंह घलान प्रस्तावक र अर्जुनप्रसाद अर्याल समर्थक छन् । नेपाली कांग्रेसबाट अर्जुन तिवारीले सुदर्शनप्रसाद लामाको प्रस्ताव र शरणबहादुर घलेको समर्थनमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नगरकोटी र घलान ३० वैशाख ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि उठेका थिए । जसमा तिवारी दोस्रो र नगरकोटी तेस्रो भएका थिए ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट रविकुमार प्रधानको उम्मेदवारी परेको छ । प्रधानले उम्मेदवारीमा माधव प्रसाद प्रस्तावक र चन्द्रप्रसाद घलान समर्थक छन् । रास्वपाका आशावीर बलले उम्मेदवारी दर्ता गराए ।

राजदेव लामाको प्रस्ताव र चन्द्रबहादुर स्याङ्तानको समर्थनमा बलले उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपाले पहिलो पटक वडामा निर्वाचन लड्दैछ ।

नेकपा (एकीकृत समाजवादी) बाट बलराम बलको मनोनयन दर्ता भएको छ । नेपाल मजदुर किसान पार्टीबाट फूलमाया तितुङ, जसपा नेपालबाट छविलाल वाइवा र मंगोल नेशनल अर्गनाइजेसनबाट दीपा लामाको उम्मेदवारी दर्ता भएको छ ।

दुई राप्रपाबीच चुनावी तालमेल

राप्रपाबाट प्रेमबहादुर भ्लोनले मनोनयन दर्ता गराए । राप्रपा उम्मेदवार भ्लोनलाई कमल थापा नेतृत्वको राप्रपा नेपालले समर्थन गर्ने भएको छ ।

राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दिपकबहादुर सिंह र राप्रपा नेपाल मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटाबीच आइतबार बसेको बैठकले भ्लोनलाई राप्रपा नेपालले समर्थन गर्ने सहमति जुटेको राप्रपा सहकोषाध्यक्ष सन्दीप सापकोटाले बताए । १२ नम्बर वडामा राप्रपाको बलियो उपस्थिति छ । २०७९ को स्थानीय तह निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका सरणसिंह थिङले १८३ मत ल्याएका थिए ।

५ जना स्वतन्त्र उम्मेदवार

१२ नम्बर वडाको उपनिर्वाचनमा ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । छत्रप्रकाश अधिकारी, गीताकुमारी नेवार, कुमार पोख्रेल, युनेश लामा सिंन्तान र अर्जुन घलानको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

वडामा थपिए १ हजार ५८८ मतदाता

१२ नम्बर वडामा १५८८ जना नयाँ मतदाता थपिएका छन् । ३० वैशाख ०७९ मा भएको निर्वाचनपछि १२ नम्बर वडामा नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन आयोगको कार्यलय हेटौंडाले जानकारी दिएको छ ।

आयोगको कार्यालयले १२ नम्बर वडामा कुल ८ हजार ५३ मतदाता कायम गरेको छ । ३८७८ पुरुष, ४१७४ महिला र अन्य १ जना मतदाता छन् ।

यसअघि ६४६५ मतदाता थिए । दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा पाँचवटा बुथ र विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेमा चारवटा बुथ रहने कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *