५ मंसिर, काठमाडौं। बुधबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक’माथि छलफल थियो । समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का उपस्थित थिए ।
बैठकको सुरवातमै समिति सभापति तुलसाकुमारी दहालले विधेयकमाथिको छलफल करिब-करिब सकिएको बताइन् ।
‘कतिपय विषयमा मन्त्रीको उपस्थित होस् भन्ने थियो । यसकारण आजको बैठक राखिएको हो’ सभापति दाहालले भनिन्, ‘विधेयकमाथिको दफावार छलफल करिब सकिएको छ ।’
उनले विधेयक अनुसार गठन हुने समितिको क्षेत्राधिकार र दायीत्व, कार्बन व्यापार अन्तर्गत प्राप्त क्षतिपूर्ति रकम प्राप्त गर्ने निकाय लगायतका विषयमा मन्त्रीको ध्यानाकर्षण गरिन् ।
माओवादी केन्द्रकी सांसद गंगा कुमारी वेल्वासेले पनि समितिमा मन्त्रीको उपस्थिति लामो समयदेखि खोजिएको बताइन् । ‘विधेयकमाथिको छलफलमा निरन्तर खोजियो तर मन्त्रीको समय पाइएन’ उनले भनिन् ।
एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले पनि विधेयकमाथिको छलफल करिब सकिएको बताए । ‘विधेयकमाथि करिब छलफल सकिएकै हो । खाली मन्त्रीको पनि उपस्थिति होस् भन्ने थियो’ सांसद भुसालले भने ।
समिति सभापति दाहालले मन्त्रीको उपस्थिति होस् भन्ने चाहना समिति सदस्यहरुको रहेको दोहोर्याइन् । ‘मन्त्रीज्यू पहिलो बैठकमा त उपस्थित हुनुभएको थियो । त्यसपछि उहाँलाई नपाइएको हो, ’ दाहालले भनिन्, ‘आइदिनुभएको भए सहज हुन्थ्यो, नजिक भएर विषय वस्तु बुझिन्थ्यो, बुझाइन्थ्यो ।’
उपस्थित हुँदा पनि पर्खनुपरेको सभापति दाहालले गुनासो गरिन् । ‘आज पनि मन्त्रीज्यू आधा घण्टा ढिलो हुनुभयो । आगामी दिनमा यस्तो नहोस् भन्ने आग्रह गर्न चाहन्छु’ सभापति दाहालले भनिन् ।
निर्धारित समयमा समितिको बैठक शुरु नभए नबसौं भन्ने प्रस्ताव आउने गरेको उल्लेख गर्दै उनले मन्त्रीको समयमै उपस्थिति आवश्यक रहेको बताइन् । ‘निर्धारित समय भन्दा १५ मिनेट ढिलो भएपछि माननीयज्युहरुले प्रश्न गर्नुहुन्छ, अब नबस्ने भन्न थाल्नुहुन्छ । कार्यविधिगत रुपमा त यस्तोलाई मिलाइएको छ । तर, मन्त्रीले ख्याल गरिदिनुपर्ने छ’ उनले भनिन् ।
जवाफमा ऊर्जामन्त्री खड्काले अबका दिनमा आफू समयमै उपस्थित हुने प्रतिवद्धता जनाए । ‘ऊर्जाराज्यमन्त्री आउनुभएको थियो । तर, माननीय ज्युहरुले मन्त्रीलाई नै खोज्नुभयो । यसमा लागि धन्यवाद भन्न चाहन्छु’ मन्त्री खड्काले भने ।
साथै आधा घण्टा ढिलो समितिमा उपस्थिति भएको प्रश्न स्मरण गर्दै मन्त्री खड्काले थपे, ‘आज पनि केही ढिलो भयो । आगामी दिनमा यस्तो नगर्ने र समयमै उपस्थिति हुने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’