Tuesday, December 24

विपन्नको उपचारमा सघाउँदै हेटौंडा उपमहानगर

१२ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले विपन्न नागरिकको उपचारमा सहयोग गर्न सुरु गरेको छ । हेटौंडा उपमहानगरपालिका–१८ स्थित थामीटोलका ४५ वर्षीय पशुपति थामीको उपचारमा उपमहानगरले सहयोग गरेको छ।

केही समय अघिदेखि बिरामी परेका थामीको पहिलो चरणको उपचार हेटौंडा अस्पतालमा भएको थियो । तर, उनको स्वास्थ्यमा सुधार आएन । उनलाई अस्पतालले घरजान सुझायो । यो कुरा उपमहानगर प्रमुख मिनाकुमारी लामा थाहा पाइन्।

थामीलाई भेट्न उपमहानगरप्रमुख लामा र हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँ सबेरै उनको घरमा पुगे । स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उनलाई मंगलबार सीएमसी चुरेहिल अस्पताल पुर्‍याइएको छ ।

अहिले थामीको उपचार चुरेहिलमा भइरहेको छ । अस्पतालको रिपोर्टअनुसार स्वास्थ्यमा अन्य समस्या नभए पनि प्लेट्सलेट्सको मात्रा घटेको देखिएको उपमहानगरले जनाएको छ ।

बिरामी थामीसँगै चुरेहिल पुगेका नगरप्रमुख लामा र अध्यक्ष बानियाँले चिकित्सक र व्यवस्थापनसँग समन्वय गर्दै उपचारमा कुनै समस्या हुन नदिन आग्रह गरेका छन् ।

उपमहानगरले थामीको परिवारका लागि चामल, दाल, तेल, सोयाबिन लगायत खाद्यान्नको व्यवस्था गरेको छ । थामी समुदायको उपचारमा सहज अवस्था सिर्जना गर्न वडाको सिफारिसमा उपमहानगरले स्वास्थ्य बीमा गरिदिने लामाले बताइन् ।

आर्थिक अभावका कारण स्वास्थ्य उपचारमा समस्या हुने, शिक्षाबाट विमुख हुनुपर्ने, दैनिक जीनवयापनमा समस्या भोगिरहेकाहरू लागि उपमहानगर सहयोग गर्न तयार रहेको उनले बताइन् । थामीटोलका स्थानीयहरू दैनिक मजदुरी गरी गुजरा चलाउँदै आएका छन् ।

यसअघि पनि उपमहानगरले १८ महिने बालकको उपचारमा सहयोग गरेको थियो । वडा नम्बर-१५ स्थित भोर्लेका १८ महिनाका बालकको उपचार गराउन उपमहानगरले आर्थिक सहयोग गरेको थियो । मनिष थिङले आर्थिक अभावमा आफ्नो नाबालक छोराको उपचार गराउन सकिरहेका थिएनन् ।

आर्थिक अभावमा नाबालकको उपचार हुन नसकेको सूचना पाएपछि उपमहानगरले नै उनको उपचारको जिम्मा लिएको उपमेयर लामाले बताइन् । चिकित्सकको सल्लाह अनुसार नाबालकको उपचारमा लाग्ने करिब ३ लाख ५० हजार रुपैयाँ खर्च उपमहानगरले बेहोर्ने निर्णय भएको छ ।

आकस्मिक स्वास्थ्यसेवाबाट कसैलाई बञ्चित नगरिने आधारभूत मौलिक अधिकारका रूपमा स्वास्थ्यसेवालाई सुनिश्चितता गरिएकोले विपन्न तथा असहायको उपचारमा सहयोग पुर्‍याउँदै आएको उपमहानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *