Thursday, December 26

काठमाडौंमा ‘निहाओ चाइना’ कार्यक्रममार्फत् पर्यटन प्रवर्द्धन प्रयास

२० मंसिर, काठमाडौं । नेपाल–चीन सम्बन्धलाई पर्यटनका माध्यमबाट पनि सुमधुर बनाउने उद्देश्यले काठमाडौंमा ‘निहाओ चाइना’ कार्यक्रम आयोजना गरिएको छ ।

दुवै देशको भ्रमणमा एकअर्काका नागरिकलाई प्रेरित गर्ने उद्देश्यले पर्यटन व्यवसायी, विमान कम्पनीहरूसँगको साझेदारीमा बुधबार चाइना कल्चरल सेन्टर (सिसिसीे)को पहलमा ‘निहाओ चाइना’ कार्यक्रम आयोजना गरिएको हो ।

चीनको राष्ट्रिय ध्वजावाहक एयर चाइना, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स र चाइना नेशनल टुरिष्ट कार्यालय काठमाडौंले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा काठमाडौंस्थित सीसीसी कार्यालयकी निर्देशक सियाओ जियाङले कार्यक्रमका माध्यमबाट नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटन तथा त्यहाँका पर्यटकीय गन्तव्यबारे बुझ्न मद्दत पुगेको बताइन् ।

उनले चिनियाँ र नेपाली पर्यटन व्यवसायीबीचको सम्बन्ध स्थापना, सूचना आदानप्रदान र भावी सहकार्यका निम्ति अवसर मिल्ने विश्वास व्यक्त गरिन् ।

चाइना नेशनल टुरिष्ट कार्यालयका मोहन सुवालले पर्यटकीय उत्पादन, चिनियाँ खाना, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा र चिनियाँ पर्यटनका अन्य सम्पदाबारे जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाली पर्यटन व्यवसायीका साथै गुआङ्सी गुआङ्दा टुरिजम इन्भेष्टमेन्ट कम्पनी, तिब्बत यती इन्टरनेशनल ट्राभल सर्भिस र सिचुआन मिङ्यान ट्राभल एजेन्सीका चिनियाँ पर्यटक कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो ।

नेपाल भ्रमण वर्ष २०२५ लाई सफल पार्न तथा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवका सन्दर्भमा द्विदेशीय पर्यटन प्रर्द्धनका कार्यक्रम उपयोगी हुने विश्वास कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *