Tuesday, December 24

गढीमाई मेलामा कृषि प्रदर्शनी : सिन्धुलीको जुनारदेखि नुवाकोटको कफीसम्म

२१ मंसिर, काठमाडौं । बाराको गढीमाई मेलामा विभिन्न कृषि उपजहरू प्रदर्शनीका लागि राखिएका छन् ।

कनेक्ट किसान प्रालिले सञ्चालन गरेको ‘बृहत कृषि प्रदर्शनी’ मा १८ पालिकाको समेत गरी १५० वटा स्टलहरू रहेका छन् । जहाँ सिन्धुलीको जुनार, रौतहटको ड्रागनफ्रुट, नुवाकोटको कफी, वीरगञ्जको च्याउ, चितवनको बेसार, सप्तरीको अचार, प्युठानको अर्गानिक मह लगायत प्रदर्शनीमा राखिएका छन् ।

यसैगरी सातै प्रदेशको सात फरक परिकार कोदोको सेलरोटी, कोदोको मःम, खुवाको योमरी, मौलिक आलु, गुन्द्रुकको अचार र लोकल खाना समेत समावेश छन् ।

कृषिमा आधुनिक प्रविधि अन्तर्गत थोपा सिँचाइ प्रविधि, नर्सरी तथा माछाको प्रदर्शनी, कृषि उपकरणमा विभिन्न कम्पनीका ट्याक्टर, रोटावेटर, हार्बेस्ट कम्पाइन तथा अन्य आवश्यक उपकरणहरू राखिएका छन् ।

प्रदर्शनीमा किसानहरुले कृषि तथा पशु सेवाका विशेषज्ञसँग कृषि सम्बन्धी विभिन्न समस्या र अवसरको विषयमा प्रत्यक्ष संवाद गर्ने व्यवस्था समेत मिलाइएको कनेक्ट किसान प्रालि अध्यक्ष सञ्जिता लामिछानेले जानकारी दिइन् ।

त्यस्तै कृषि प्रदर्शनीको अर्को खास आकर्षणमा रोबोट पनि रहेको छ । किसानहरूले आफ्नो कृषि समस्याको विषयमा सिधै रोबोटलाई सवाल जवाफ गर्न सक्ने व्यवस्था पनि मिलाइएको छ ।

कृषिलाई आधुनिक प्रविधिसँग जोड्न कृषिसँग सम्बन्धित कुनै पनि सवालजवाफ सोध्न सक्ने गरी रोबोटको विकास गरिएको कनेक्ट किसानका राजन दहालले जानकारी दिए ।

१८ मंसिरमा कृषि प्रदर्शनीको उद्घाटन उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए । प्रदर्शनी २४ मंसिरसम्म सञ्चालन हुने प्रदर्शनीमा २ लाख मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको लामिछानेले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *