काठमाडौं । प्राकृतिक स्रोतमाथि महिलाको पहुँचको अवस्था दयनीय रहेको सरोकारवालाहरुले बताएका छन् । प्राकृतिक स्रोतको क्षेत्रमा काम गरिरहेको ग्रिन फाउण्डेसन नेपालको संयोजनमा मंगलबार सातवटा संस्थाले संयुक्त रुपमा आयोजना गरेको ‘प्राकृतिक स्रोतमाथि महिलाको अधिकार’ विषयक अन्तरसंवाद कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले नेपालको वन संरक्षणमा सीमान्तकृत समुदायका महिलाको योगदान महत्वपूर्ण रहेको बताइन् । तर आफैंले संरक्षण गरेको प्राकृतिक स्रोतमाथिको पहुँचको अवस्था भने कहालीलाग्दो रहेको उनको भनाक्इ थियो ।
प्राकृतिक स्रोतको उपभोग गर्ने विषयमा तीन तहका सरकारबीच नै विवाद रहेको भन्दै वरिष्ठ न्यायाधीश मल्लले विवादपछिका धेरै मुद्दा अदालतमा पनि विचाराधीन अवस्थामा रहेको बताइन् ।
अन्तरसंवादमा बागमती प्रदेशकी सांसद भारती पाठकले प्राकृतिक स्रोत संरक्षणमा देशभर धेरै महिला लागेको भए पनि उपभोग टाढाको कुरा भएको बताइन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघीय अध्यक्ष ठाकुर भण्डारीले समावेशिता र हिंसारहित समाज निर्माणका लागि आफू नेतृत्वको संस्थाले स्थापनाकालबाटै निरन्तर पैरवी, वकालत र संघर्ष गर्दै आएको बताए । ‘बनेका कानुन कार्यन्वयन हुँदैनन् भने सानोतिनो कार्यक्रमले दबाब पुग्दैन । त्यसकारण सबै एकताबद्ध भएर मुठ्ठी उठाएर धक्का दिन आवश्यक छ’ उनले भने ।