Monday, December 23

माओवादीको निष्कर्ष- उपनिर्वाचनले दुई दलीय वकालत खण्डित गर्‍यो

२८ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचनको नतिजाले दुई दलीय वकालतको खण्डन गरेको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले सत्तारुढको दुई दलीय चिन्तनलाई उपनिर्वाचनले खारेज गरेको निष्कर्ष निकालेको हो ।

‘अहिलेको (उपनिर्वाचन) नतिजा दुई दलीय व्यवस्थातिर जुन सोचिरहेका थिए, त्यसलाई खण्डित गरेको छ,’ उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने । उपनिर्वाचनबाट सिट बढ्नुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेका कामहरूको अनुमोदन भएको पनि निष्कर्ष निकालेको छ ।

‘सरकारलाई अन्य कुरामा पनि दबाब सिर्जना गरेको छ । चुनौती खडा गरेको छ,’ सापकोटाले भने, ‘सरकारले भ्रष्टाचार विरोधीहरूलाई संरक्षण गर्ने, विचौलिया र दलालको पक्षमा नीति निर्माण गर्ने काम गरेको थियो । त्यसलाई रोक्न मद्दत गरेको छ ।’

उपनिर्वाचनको नतिजालाई पार्टीका नेता–कार्यकर्ता अब जनतासँगै फर्कनुपर्छ भन्ने सन्देशका रुपमा लिनुपर्ने पनि माओवादीको निचोड छ ।

‘समीक्षाको सारमा अहिलेको मतले उत्साहपूर्ण नतिजा आएको छ, सबै नेता कार्यकर्ता र जनतासँगै फर्कनुपर्छ भनेका छन्’, प्रवक्ता सापकाटाले भने ।

बैठकले सरकारले गरेको निर्णयप्रति असन्तुष्टि पनि जनाएको छ ।

‘सरकार अधोगतीतिर धकेल्दै छ । सरकारले राम्रो काम गर्नबाट अवरोध सिर्जना गरेको छ,’ सापकोटाले भने, ‘विद्युत् प्राधिकरणले आफूलाई नाफामा लगेको छ । त्यहाँ बिजुलीको महसुल नतिरेकालाई लाइन काट्न हुँदैन भनेर प्रधानमन्त्रीदेखि नै निर्देशन भएको छ । यो सर्वथा गलत छ । यसप्रति हाम्रो घोर आपत्ति छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *