काठमाडौँ । बक्स अफिसमा पुष्पा २ ले तहल्का मच्चाइ रहँदा अभिनेता अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उनलाई पुष्प २ को प्रिमियरमा भएको भागदौडमा एक महिलाको मृत्यु प्रकरणमा अभियुक्त बनाइएको छ ।
उनीमाथि डिसेम्बर ४ मा हैदरावादको सन्ध्या थिएटरमा बिना जानकारी आएको आरोप छ । जसका कारण त्यहाँ भीड जम्मा भयो र भागदौड मच्चियो । घटनामा धेरै मानिस घाइते भए ।
यस घटनापछि अधिकारीहरूले सन्ध्या थिएटरका सञ्चालक, अल्लु अर्जुन र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दर्ता गरेका थिए। यसैबिच, अभिनेताले महिलाको मृत्युको मामिलामा दर्ता भएको एफआईआर खारेज गर्न उच्च अदालतमा अपिल गरेका छन्।
घटनापछि अल्लु अर्जुन र उनको टोलीले महिलाको मृत्युमा शोक व्यक्त गरेका थिए। अभिनेताले मृतक रेवतीका परिवारप्रति समवेदना प्रकट गर्दै उनीहरूलाई भेटेका थिए । अभिनेताले २५ लाख भारु सहयोग गर्ने वाचा पनि गरेका थिए ।
भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार अल्लु अर्जुनले आफ्नो गिरफ्तारीको शैलीमा आपत्ति जनाएका छन् । प्रहरीले बिहानको खाजा खान नदिएको अभिनेताले दाबी गरेका छन् । लुगा फेर्न पनि अनुमति नदिइएको उनको भनाई छ ।
प्रहरीले अल्लु अर्जुनलाई उनकै घरबाट पक्राउ गरेको थियो । त्यसपछि उनको बयान लिइएको थियो । उनलाई मेडिकल चेकअपका लागि उस्मानिया अस्पताल लगिएको छ। यसै क्रममा उनका ससुरा हैदराबादको चिक्कडपल्ली प्रहरी चौकी पुगेका थिए ।
अल्लु अर्जुन विरुद्ध बीएनएसको धारा १०५, ११८ (१) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यो गैर जमानती धारा हो। अल्लुका निजी अङ्गरक्षक सन्तोषलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
अल्लु अर्जुन बिना जानकारी डिसेम्बर ४ मा फिल्मको प्रदर्शनका लागि सन्ध्या थिएटरमा आएका थिए । जसका कारण फ्यानहरू अल्लु अर्जुनलाई भेट्न आतुर थिए । फ्यानहरूको ठुलो सङ्ख्या उनीसँग थिएटरमा प्रवेश गर्न खोज्यो। जसका कारण थिएटरमा ठुलो भीड जम्मा भयो र त्यसपछि मानिसहरूलाई सास फेर्न गाह्रो हुन थाल्यो।
भीडलाई नियन्त्रणमा लिन प्रहरीले हल्का लाठी चार्ज गरेको थियो । भीड कम भएपछि निसास्सिएर बेहोस भएका मानिसहरूलाई अस्पतालमा भर्ना गरिएको थियो । तर त्यही क्रममा अस्पतालमा एक महिलालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
@एजेन्सी