Monday, December 23

तोकिएकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने अनेरास्ववियुको माग

४ पुस, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले तोकिएकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले १५ फागुनमा स्ववियु निर्वाचन गर्ने जनाएको छ । सोही मितिमा स्ववियु निर्वाचन हुनुपर्ने भन्दै अनेरास्ववियुले विश्वविद्यालय पदाधिकारीसँग छलफल गर्ने भएको छ ।

बिहीबार १२औं सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै अनेरास्ववियुले तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न दबाब दिन सर्वपक्षीय छलफल समेत आह्वान गरेको छ ।

अनेरास्ववियुले स्ववियु निर्वाचनका लागि २५ र २६ पुसमा तयारी कार्यशाला सञ्चालन गर्ने भएको छ । कार्यशालामा देशभरिका अनेरास्ववियुका जिल्ला अध्यक्षहरू सहभागी हुनेछन् ।

बैठकले २०८१ चैत मसान्तभित्र २४औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । काठमाडौंमा ६, ७ र ८ माघमा बस्ने केन्द्रीय कमिटीको बैठकपछि स्ववियु निर्वाचनलाई असर नपर्ने गरी महाधिवेशनको कार्यसूची र स्थान सार्वजनिक गर्ने निर्णय बैठकले गरेको छ ।

स्ववियु सचिव एवं अनेरास्ववियु अध्यक्ष सिद्धान्त भट्टद्वारा प्रस्तुत ३५ बुँदे विश्वविद्यालय सुधारको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्ने अनेरास्ववियुको माग छ ।

बैठकले सामाजिक सञ्जालको दुरुपयोग गरी फेक समाचार सम्प्रेशण गर्ने, व्यक्तिको चरित्र हत्या गर्ने, गलत मनसायले समाचार तोडमोड गर्नेलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *