Monday, December 23

पोडवेदेखि लोकल रक्सी ब्राण्डिङको योजना, १ खर्ब जुटाउने लक्ष्य

५ पुस, विराटनगर । कोशी प्रदेशले लगानी सम्मेलन आफैं आयोजना गर्ने भएको छ । यसअघि सम्मेलन व्यवस्थापनको जिम्मा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग संगठन मोरङलाई दिएका थिए ।

तर, उद्योग संगठनले ‘विराट एक्स्पो’ स्थलमै लगानी सम्मेलन गर्ने तयारी गरेपछि निजी क्षेत्रसहित प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले विरोध गरेका थिए । सम्मेलन गर्नेबारे निजी क्षेत्र नै विभाजित हुने अवस्था आएपछि मुख्यमन्त्री कार्की संगठनलाई व्यवस्थापनको जिम्मेवारी दिने निर्णयबाट पछि हटेका हुन् ।

अब लगानी सम्मेलन प्रदेश सरकारले आफैं गर्ने भएको मुख्यमन्त्री कार्कीले बताए । माघ ११ गतेदेखि १३ गतेसम्म लगानी सम्मेलन गर्ने तयारी छ । सम्मेलन सञ्चालनका लागि प्रदेश सरकारले ३ करोड बजेट विनियोजन गरेको छ ।

यो सम्मेलनमा प्रस्तुत गर्नका लागि कोशी प्रदेश लगानी प्राधिकरणले ३७ वटा आयोजना तयार गरेको छ । ती आयोजनालाई लगानी सम्मेलनमा सोकेसको रुपमा प्रस्तुत गरिनेछ । ३७ वटा योजनामा लगानी सम्झौता गरी एक खर्ब ४ अर्ब ८५ करोड स्रोत सुनिश्चित गर्ने सरकारको लक्ष्य छ ।

लगानी सम्मेलनमा प्रस्तुत गरिने सोकेसमा केबलकार, पोड–वेदेखि कोदोको रक्सी ब्राण्डिङ उद्योग स्थापना गर्नेसम्मका आयोजनाहरु छन् । जलविद्युत, कृषि उद्योग, डेरी उद्योग, होटल निर्माण पनि सरकारको योजनामा छन् ।

प्रदेश सरकार गठन भएपछि पहिलो पटक आयोजना गर्न लागेको लगानी सम्मेलनमा प्रस्तुत हुने योजनाहरु थोरै भएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बताएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले सरकारले प्रस्तुत गर्ने तयारी गरेको योजना थोरै रहेको बताए । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले लगानी सम्मेलनमा सरकारलाई अन्य महत्वपूर्ण र दूरगामी महत्व राख्ने योजनाहरु प्रस्तुत गर्न आग्रह गरे ।

कुन जिल्लामा के छन् योजना ?

मोरङ : हर्बल प्रोसेसिङ उद्योग, विराटनगर मल्टिपर्पाेज कमर्सियल कम्प्लेक्स, दुई वटा फाइभ स्टार होटल, पब्लिक ट्रान्सपोर्ट प्रोजेक्ट, कोशी पोडवे पूर्वाधार निर्माण, डाटा सेन्टर स्थापना, डिजिटल कोशीका लागि पूर्वाधार, बेतना सिमसार टुरिजम प्रोजेक्ट ।

सुनसरी : एग्रो प्रोसेसिङ उद्योग, बर्जुमा बर्जु ताल टुरिजम प्रोजेक्ट, रास ताल टुरिजम प्रोजेक्ट, वाटर पार्क निर्माण, कोशी रिफ्रेसमेन्ट सेन्टर र ग्रीन हाइड्रोजन एण्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट ।

उदयपुर : उदयपुर क्लिंकर प्रोजेक्ट, ग्रीन हाइड्रोजन एन्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट, इथानोल प्रोजेक्ट ।

झापा : बायो फर्टिलाइजर प्रोडक्सन एण्ड रिसर्च उद्योग, काँकडभिट्टा बसपार्क, मेचीनगरमा इन्टग्र्रेटेड सोलिड वेस्ट मेनेजमेन्ट प्रोजेक्ट ।

इलाम : जितपुरमा देउमाई कफी फार्म, सूर्याेदय नगरपालिकामा डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, इलामको सूर्योदय नगरपालिकामा डेरी प्रोडक्ड एण्ड प्रोसेसिङ उद्योग, कन्याम–अन्तु केबलकार, बुद्धपार्क चित्रे गुम्बा केबलकार, कन्याम मनोरेल प्रोजेक्ट ।

धनकुटा : सहिदभूमिमा फ्रुट्स फार्मिङ प्रोसेसिङ उद्योग एग्रो टुरिजम, साँघुरीगढीमा किबी फार्मिङ प्रोसेसिङ उद्योग, एभोकाडो फार्मिङ प्रोसेसिङ उद्योग, अनुसन्धान सेन्टर, भेडेटारमा मल्टिपर्पाेज कम्प्लेक्स, राजाताल टुरिजम प्रोजेक्ट ।

सोलुखुम्बु : आमादाबब्लाम मिनी हाइड्रो परियोजना, मेन्जोखोला मिनी हाइड्रो, चिउरीखर्क नाम्चे रोपवे, चौंरीखर्च छेदिङमा केबलकार ।

खोटाङ : हलेसी केबलकार–पोडवे निर्माण ।

११ वटा पहाडी जिल्ला : कोदोको रक्सी उद्योग ।

कहाँ खर्च हुन्छ ३ करोड ?

एक खर्ब लगानी जुटाउने लक्ष्य राखेको सम्मेलन आयोजना गर्नका लागि प्रदेश सरकारले ३ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आयोजना गर्ने सम्मेलनको सचिवालय व्यवस्थापनमा मात्रै ४० लाख ६० हजार रुपैयाँ बजेट छुट्याएको छ ।

बैठक भत्ताका लागि ७ लाख, कर्मचारी प्रोत्साहन भत्ताका लागि ७ लाख ८० हजार रुपैयाँ बजेट छुट्याइएको छ । सम्मेलनको परामर्श सेवाका लागि ५ लाख, प्रचारप्रसारका लागि ४३ लाख ४० हजार, परियोजनासँग सम्बन्धित खर्च शीर्षकमा ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले गर्ने लगानी सम्मेलनको व्यवस्थापनका लागि मात्रै १ करोड ७६ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *