Thursday, December 26

नाम मात्रैको बन्यो माओवादीको वेबसाइट, प्रचार विभागको भूमिकामा प्रश्न

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले गत वर्ष मंसिरको दोस्रो साता तामझाम गरेर पार्टीको आधिकारिक वेबसाइट सञ्चालन गर्‍यो । लामो समयको गृहकार्यपछि तत्कालीन प्रधानमन्त्री समेत रहेका माओवादीका अध्यक्ष प्रचण्डले पार्टीको आधिकारिक वेबसाइटको शुभारम्भ गरेका थिए । तर, एकवर्ष बितिसक्दा समेत उक्त वेबसाइट नाम मात्रैको बनेको छ ।

माओवादी केन्द्रकी नेतृ तथा आइटी फोरम विभागकी सहइन्चार्ज रेखा शर्माले वेबसाइटलाई लक्ष्यअनुसार अगाडि बढाउन नसकिएको स्वीकार गरिन् । यस्तै वेबसाइट र समग्र प्रचारको कामलाई व्यवस्थित गर्ने काममा प्रचार विभाग चुकेको देखिन्छ । आईसीटी र प्रचार विभागको इन्चार्जको भूमिकामा उपाध्यक्ष अग्नि सापकोटा रहेका छन् ।

‘अहिले प्रविधिमा एआईको प्रयोग बढ्दै गएको छ । सामाजिक सञ्जालमा नयाँ नयाँ फिचर आइरहेका छन् । प्रविधिको बढ्दो प्रयोगसँगै पार्टीलाई ढाल्न निकै मेहनत गर्नुपर्ने देखिन्छ । हामीले प्रविधि र सूचना प्रणालीलाई व्यवस्थित गर्न एक वर्षअघि पार्टीको आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएका हौँ । यद्यपि लक्ष्यअनुसार आकर्षक तथा पूर्णता दिन सकिएको छैन । प्रचार तथा प्रकाशन विभागले गृहकार्य गरिराखेको छ’, शर्माले भनिन् ।

तर प्रचार विभागका सहइन्चार्ज महेश्वर दाहालले भने सूचना र सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन अहिलेसम्म छलफल गरेको वा बैठक बसेको आफूलाई थाहा नभएको जिकिर गरे । प्रचार विभाग नै व्यक्ति विशेषको कब्जामा रहेकाले माओवादी सूचना, प्रविधि र सामाजिक क्षेत्रमा पछि परेको दाहालको भनाइ छ ।

‘प्रचार विभागको सहइन्चार्ज म हुँ । तर विभाग प्रमुखले अहिलेसम्म एउटा बैठक पनि बोलाउनु भएको छैन । व्यक्ति विशेषको कब्जामा विभाग छ । प्रविधिको बढ्दो प्रयोगसँगै पार्टीलाई कसरी अगाडि बढाउने विषयमा म लगायत विशेषज्ञ टिमसँग छलफल गरेको मलाई कुनै जानकारी छैन’, उनले भने ।

माओवादीको आधिकारिक गतिविधि हेर्नका लागि www.cpnmc.org मा लगइन गर्नुपर्ने हुन्छ । साइट लगइन गरेपछि पार्टीका दस्ताबेज, सङ्गठनात्मक स्वरूप, पार्टीका फोटो, भिडियो, प्रदेशले जारी गरेका प्रेस वक्तव्य, जन सेवा, विकास निर्माणमा गरिएका कार्यहरू, जवस/मोर्चाका गतिविधि, सङ्गठनात्मक संरचना, प्रदेशका महत्पूर्ण समाचार, विचार, सूचना, तथा पार्टीसम्बन्धी गतिविधि हेर्न सकिन्छ । तथापि साइटले अहिलेसम्म पूर्णता पाएको छैन । अन्य पार्टीको तुलनामा वेब डिजाइन पनि आकर्षक देखिँदैन ।

त्यतिबेला प्रविधिको बढ्दो प्रयोगसँगै पार्टीलाई आईटी क्षेत्र, सामाजिक सञ्जालमा अभ्यस्त बनाउन यो वेबसाइट महत्त्वपूर्ण कोशेढुंगा हुने आइटी फोरका सदस्य निर्मल ज्ञवालीले दाबी गरेका थिए ।

‘हतारमा लन्च गरेकाले केही प्राविधिक समस्या देखिन सक्छ । साइट पुरै भरेरमात्र सार्वजनिक गरौँ भन्ने सोचाइ थियो । तर अहिले लन्च गरौँ त्यसपछि भर्दै जाउँला भन्ने धेरैको मत आएपछि सञ्चालनमा ल्यायौँ’, त्यतिबेला उनले भनेका थिए ।

साइटको विशेषताबारे थप जानकारी दिँदै उनले पाठक कहाँ बसेर हेर्छन् त्यही क्षेत्रको समाचार आउनेदेखि नेपाली शब्दलाई पनि पढेर सुनाइदिने प्रविधि प्रयोग गरेको बताएका थिए । अन्य दलले वेबसाइट म्याटरहरूलाई बढी प्रोत्साहन दिएको तर आफूले कार्यक्रम स्रोतको रूपमा लिनेगरी न्यूज पोर्टलको रूपमा लन्च गरिएको ज्ञवालीले दाबी गरेका थिए ।

साथै यसले वेबसाइटले पूर्णता पाइसकेपछि भोलिको दिनमा एउटा सामान्य पत्रकारलाई माओवादीबारे विस्तृत सूचना चाहिएको खण्डमा काफी हुने आधार तयार उनको भनाइ थियो ।

२०८० साउन २१ सम्पन्न गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले सूचना प्रविधिमा पछि परेको निष्कर्ष निकाल्दै आईसीटी फोरम विभाग गठन गर्ने निर्णय गरेको थियो । पार्टी तथा सरकारले गरेका राम्रो काम प्रचार गर्न प्रविधिका साथसाथै सामाजिक सञ्जालमा सक्रिय हुन निर्देशन दिएको थियो ।

प्रचार तथा प्रकाशनसम्बन्धीको कामलाई व्यवस्थित बनाउन पार्टीको जनसङ्गठनका रूपमा रहने गरी व्यावसायिक सङ्गठनको ढाँचामा आइसिटी फोरम बनाएर केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको संरचना बनाउने नीति अनुसार भदौ २९ गते माओवादीले आइटी फोरम गठन गरेको थियो ।

व्यावसायिक सङ्गठनको ढाँचामा गोविन्द आचार्यको नेतृत्वमा आइसिटी फोरम नेपाल गठन भएको थियो । फोरमको इन्चार्जमा सापकोटा, सहइन्चार्जमा रेखा शर्मा रहेका हुन् ।

यसैगरी सम्पादक, लेखक तथा समाचारदातासँग केन्द्रीयस्तरमा नियमित अन्तरक्रिया, स्थानीयस्तरमा सञ्चारकर्मीहरूसँग भेटघाट गर्ने, कम्तीमा १५ दिनमा एक पटक केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी नीति, निर्णय र कामहरू सार्वजनिक गर्ने निर्णयसमेत गरेको थियो ।

पार्टी केन्द्रीय सदस्यलगायत सबै तहका कमिटी र सदस्यले फेसबुक, ट्विटर र टिकटकलगायत सामाजिक सञ्जालका ‘एकाउन्ट’ बनाउनुपर्ने, पार्टीका सबै कमिटीमा प्रचार सेलको व्यवस्था गर्ने, पार्टीको नीति र नेतृत्वको विरुद्ध सार्वजनिक टिप्पणी गर्ने कुरालाई निरुत्साहित गर्ने माओवादीको नीति लिएको थियो ।

सापकोटा पार्टीको प्रवक्ता तथा प्रचार विभागको इन्चार्ज भएपछि आइटी र सोसल मिडियाबारे बुझ्न २०८१ साल जेठ २५ एमाले मुख्यालय समेत गएका थिए । त्यतिबेला एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीको प्रचार विभाग सञ्चालन र प्रविधिको प्रयोगबारे सापकोटालाई अवगत गराएका थिए ।

साथै प्रदेश, जिल्ला र स्थानीय तहसम्म संरचना बनाउने घोषणा गरेको थियो । तर घोषणा मुताबिक काम नभएको दाहालले जिकिर गरेका छन् ।

अन्य पार्टीको अवस्था कस्तो ?

एमालेको वेबसाइटमा इतिहासदेखि वर्तमानसम्मका दस्ताबेज, साङ्गठनिक संरचना, विचार प्रधान लेख, दैनिक गतिविधि लगायत सूचना चुस्त दुरुस्त राखिएको छ । वेबसाइट समेत आकर्षक देखिन्छ ।

त्यसमा पार्टीसम्बन्धी लगभग सबै सूचना र गतिविधि सजिलै भेट्न सकिन्छ । प्रचार विभागलाई व्यवस्थित बनाउन विशेषज्ञ टिमसहित सबै पक्षलाई काम विभाजन गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘प्रचार विभागलाई व्यवस्थित गर्न हामीले प्राविधिक टिमसहित सबै पक्षलाई समेटेर टिम बनाएका छौँ । प्रकाशन, प्रचार प्रसार लगायत दैनिक गतिविधि छुट्टै टिमले काम गर्छ । प्राविधिक समस्या समाधानका लागि आइटी टिम खटिएका छन् । सञ्चार क्षेत्र, सामाजिक सञ्जाल लगायत गतिविधि नियमन र नियन्त्रणका लागि छुट्टै टिमले हेर्छन्’, गौतमले भने ।

यसैगरी कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीका आधिकारिक सूचना प्रकाशन, प्रसारण लगायत विषयमा नियमित अपडेट विभागले गरिरहेको बताए ।

‘विशेषता हामीले पार्टीको नियमित प्रकाशन, प्रसारणमा ध्यान दिइरहेका छौँ । यी लगायत सामाजिक सञ्जाल, सञ्चार माध्यम तथा बढ्दो प्रविधिको चुनौती र अवसरलाई ध्यान दिएर नियन्त्रण र सन्तुलनलाई ध्यानमा राखी पार्टीले नीति नै बनाएको छ’, उनले भने ।

यसैगरी सामाजिक सञ्जालमा बढी सक्रिय रहेको नवउदयीमान दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विकसित हुँदै गएको प्रविधि, सञ्चार माध्यम, सामाजिक सञ्जाललाई ध्यान दिएर पार्टीले नियमित गतिविधि गरिरहेको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । रास्वपाको वेबसाइट अन्य पार्टीको तुलनामा थप आकर्षक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *