Friday, December 27

चितवनको मेघौलीमा शुक्रबारदेखि राष्ट्रिय रैथाने खाना महोत्सव

११ पुस, चितवन । चितवनको मेघौलीमा शुक्रबारदेखि राष्ट्रिय रैथाने खाना महोत्सव हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को बार्षिकोत्सवका अवसरमा राष्ट्रिय खाना महोत्सव आयोजना गर्न लागिएको हो ।

पुस १२ गते शुक्रबारदेखि १६ गतेसम्म चल्ने महोत्सव मेघौलीको जानकी माध्यामिक बिद्यालयमा गर्न लागिएको छ । महोत्सवमा ५० वटा स्थानीय खानाका स्टलहरु रहने संयोजक मायाराम चौधरीले जानकारी दिए ।

महोत्सवमा ५० वटा स्टल र १० वटा कुमाल, थारु, बोटे लगायतका जातिका परम्परागत शैलीका घरहरु रहनेछन् । चौधरीका अनुसार महोत्सवमा चितवनका आदिवासी रैथाने जातीले तयार गर्ने खानाका परिकारहरु राखिनेछन् ।

स्थानीय थारु, कुमाल, दराई, मगर, गुरुङ, वोटे, मुसहर समुदायसहितका स्थानीय जातजातीका खानाहरु महोत्सवमा राखिने छ । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ ।

थारु र कुमाल जातिको सांस्कृतिक नृत्यहरु पनि रहने छन् । महोत्सवमा थारु, दराई, कुमाल, मगरलगायत विभिन्न जातिका खानाका परिकार हाँस र कुखुराको मासु, घोँगी, चिचर, माछा खान पाइने संयोजक चौधरीले बताए ।

खाना महोत्सवले स्थानीय जातजातीको खानाको बारेमा जानकारी हुनका साथैं पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने संयोजक चौधरीले बताए । १ लाख भन्दा बढि पर्यटक आउने अनुमान गरिएको महोत्सवमा ६१ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

महोत्सव आयोजकमा भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८, होटल व्यवसायी संघ चितवन, मेघौली पर्यटन विकास समिति, मेघौली उपभोक्ता समिति र चितवन गोलाघाट पर्यटन विकास समिति छन् ।

यस महोत्सवले स्थानीय परिकार र सांस्कृतिक पहिचान प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाई थप प्रेरित गर्न सहयोग गर्ने विश्वास महानगरले लिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

भ्रमण वर्षको निरन्तरता स्वरुप मेघौलीमा महोत्सवको आयोजना गरिएको उनको भनाइ छ । गत वर्ष भरतपुर भ्रमण वर्षको सफल उद्घाटन पछि भरतपुरमा धेरै कार्यक्रमहरु आयोजना गरिएको भन्दैं नगर प्रमुख दाहालले विभिन्न समस्याका बाबजुद भरतपुर भ्रमण वर्ष सफल भएको बताइन् ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्यभन्दा बढी पर्यटक महानगरमा भित्रिएको दाबी गरिन् । महानगरपालिका भित्र एक वर्षमा बाह्य दुई लाख र आन्तरिक १० लाख पर्यटकले अवलोकन गरेका छन् ।

भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धनमा टेवा पुगेको, आन्तरिक तथा बाह्य पर्यटकको संख्या बृद्विमा महत्वपूर्ण भुमिका खेलेको बताइन् ।

दीगो पर्यटन विकासका पूर्वाधारहरू थपिएको, होटल रेष्टुरेन्टमा सेवा वृद्वि भएको, पर्यटकको संख्या, बसाई अबधि एवं आर्थिक क्रियाकलापहरुमा वृद्वि भएको नगर प्रमुख दाहालले बताइन् ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले महोत्सवमा स्थानीय खानाका सँगसँगै ७७ जिल्लाको प्रतिनिधत्व गर्दै ७७ मिटर लम्बाइको नेपालको नक्सा विशेष आकर्षकको रुपमा रहने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *