Wednesday, January 15

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट आजदेखि धनगढीमा सुरू हुँदै

१ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ ।

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताअन्तर्गत पहिलो दिन दुई खेलहरू हुँदैछन् । पहिलो खेल विहान ९ बजे सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशको बीचमा हुनेछ । त्यसैगरी दोस्रो खेल दिउँसो १ बजे कर्णाली प्रदेश र एपीएफको बीचमा हुनेछ ।

प्रतियोगिता माघ १२ गतेसम्म हुनेछ । प्रतियोगितामा ७ प्रदेश र दुई विभागीय टोली गरी ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस पटक त्रिभुवन आर्मीको महिला टिमले पनि खेल्दैछ ।

सहभागी टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, एपीएफ र सुदूरपश्चिम प्रदेश समूह ए मा छ भने कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब समूह बी मा छन् ।

दुवै समूहको शीर्ष दुई टोली सुपर फोर राउण्डमा प्रवेश गर्नेछन् । जहाँ समूह ए को शीर्ष दुई टोलीले समूह बी का शीर्ष दुई टोलीसँग खेल्नेछन् ।

सुपर फोरमा एकै समूहको टोलीबीच भने खेल हुने छैन । सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *