Tuesday, January 14

ओलीबारे लेखराजको पुरानो भिडियो एकाएक बहसमा

१ माघ, काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले आफ्नो पुरानो भिडियो देखाएर नचाहिँदो हल्ला फिँजाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । यसअघि पनि पार्टी छाडेको भन्दै हल्ला चलाएर दुःख दिने काम भएको उनको भनाइ छ ।

‘केही समय अगाडि पार्टी नै छाड्यो भनेर प्रचार गरियो त्यसको मैले विज्ञप्ति नै निकालेर खण्डन गरेँ,’ एमाले सचिव भट्ट भन्छन्, ‘अहिले फेरि पुरानो भिडियो सार्वजनिक गरिएको छ । अगाडि र पछाडिका संवाद फालेर बीचको मात्रै राखेको छ । यो गलत छ ।’
भट्टको एउटा भिडियो क्लिप सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ । जहाँ उनले एमालेमा रहेर राजनीति गर्दा पूर्वमाओवादीको हालतबारे उल्लेख गरेका छन् ।

भट्टका अनुसार सार्वजनिक भिडियो एमालेको दशौं महाधिवेशन (२०७८ साल मंसिर पहिलो साता) समयको हो । एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । तर सर्वोच्च अदालतले नेकपा एकता भंग गरिदिएपछि एमाले र माओवादी ब्युँतिए । पूर्वपार्टी ब्युँतिएपछि एमालेको दशौं महाधिवेशन भएको हो ।

पार्टी एकता सर्वोच्चले भंग गरिदिएपछि नेकपा एकताको निरन्तरताको रूपमा माओवादीका भट्ट, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी सहितका नेताहरू एमालेमै रहेका थिए ।

नेकपा निरन्तरताको रूपमा रहेका पूर्वमाओवादीको अवस्था एमालेभित्र कस्तो हुने भन्ने सन्दर्भमा नेता/कार्यकर्ताका चाहना र गुनासा सम्बोधन गर्ने क्रममा आफूले बोलेका विषयलाई भिडियो बनाइएको रहेछ भन्ने बल्ल थाहा पाएको भट्टले बताए ।

‘पार्टीभित्रकै साथीले रेकर्ड गर्नुभएको हो । ती साथी अहिले पनि पार्टीमै हुनुहुन्छ । पहिले के नियतले रेकर्ड गर्नुभयो, अहिले किन बाहिर ल्याउनुभयो र उहाँ कोबाट परिचालित हुनुहुन्छ त्यो चाहिँ पत्ता लगाउनुपर्छ,’ भट्टले अनलाइनखबरसँग भने ।

भट्टका अनुसार स्थानीय नेताले उनीसँग भेटेका थिए । लामो कुराकानी भएको थियो । भिडियो रेकर्ड गरिएको भट्टलाई थाहा थिएन । एमालेमा पूर्व माओवादी पनि अटाउँछन् र राजनीतिमा के कस्तो अवस्था आउँछन् र के गर्नुपर्छ भन्ने सन्दर्भमा उनले नेता/कार्यकर्तालाई आश्वस्त गराउन खोजेका थिए ।

भिडियोमा भट्टले सुनाएको दुखेसा र उकुसमुकुस व्यक्त भएको सुनिन्छ । त्यसमा उनले बोलेका छन्, ‘कि त राजनीतिबाट सन्यास लिनुपर्‍यो, होइन भने यही नेतृत्वलाई स्वीकार गरेर जानुपर्छ । पार्टी जीवनमा कतिपय भइरहने कुरा हुन् भनेको थिएँ । तर, त्यसको अगाडि र पछाडिको कुरा काटेर एउटा क्लिप सार्वजनिक गरिएको छ ।’

अहिले एमाले पार्टीभित्र समस्या नरहेको भट्टले दाबी गरे । ‘अहिले पार्टीमा त्यस्तो छैन । पुरानो सन्दर्भलाई कोट्याउनु राम्रो पनि होइन,’ उनले भने ।

सार्वजनिक भिडियोमा भट्टले तीन कोणमा आफ्ना कुरा राखेका छन् ।

भट्टले माओवादीमा रहँदा पुष्पकमल दाहाल प्रचण्डसँगको सम्बन्ध र संघर्ष सम्झिएका छन् । एमालेमा रहँदाका अप्ठ्यारा र एमाले छाड्दाका विकल्प पनि राखेका छन् ।

प्रचण्डसँग रहँदाको जस्तो अवस्था एमालेमा ओलीसँग नरहेको भट्टको ब्रिफिङ छ ।

‘इन्चार्जको रूपमा रिभोल्ट गरेको छ । तर नेतृत्वले गम्भीरतापूर्वक लिएन त्यसलाई ..यो समस्या नेतृत्वमा छ,’ भट्टले भनेका छन्, ‘म चाहिँ के हो त भन्दा म प्रचण्डसँग जुधेको जस्तो अहिले केपीसँग जुध्न सक्दिनँ । किनभने त्यहाँ लडेर आइया छ । यहाँ केपी भनिएको छ । भोलि नेतृत्वले त्यसलाई नेगेटिभ (लियो भने) हाम्रो (एमाले) मा त ‘म’ भन्ने छ नि त, अहंकार नेताहरूमा …।’

अहंकारको सन्दर्भमा भट्टले थप व्याख्या गरेका छन्, ‘मार्क्सिज्म नि, म बाहेक अरू छैन ।’

नेतृत्वसँग संघर्ष गर्दा विभिन्न विकल्प हुने भनेर नेता भट्टले यहाँ पनि तीन वटा विकल्प देखाएका छन् । ‘अब मेरो (विकल्प) के हुन्छ ? या त मैले अन्य पार्टी खोल्नुपर्छ । या त अरू पार्टीमा जानुपर्छ । या त मैले (राजनीतिबाट) सन्यास लिनुपर्छ,’ भट्टले भनेका छन् ।

सार्वजनिक भिडियोमा एमालेमा ओलीसँग संघर्ष गर्ने बेला नभएको पनि भट्टको ब्रिफिङ छ ।

‘सिधै अहिले नै केपीसँग जुध्ने हो भने समस्या त आइहाल्छ । अहिले बेलै भएको छैन । भर्खर हामी आएका हौँ, उहाँले हामीलाई बुझ्नुभएको छैन । तर हामीले त बुझिसक्यौं केपीलाई’ भट्टले भनेका छन् ।

यहीँनेर भट्टले टोपबहादुर रायमाझी जेल गएको प्रसंग कोट्याएका छन् ।

‘अहिले टोपबहादुरभित्र (नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर जेल) पर्नुभयो । साथीहरूले भनेका छन्, जिम्मेवार मान्छेले लेख्या पनि छन्– माओवादीमा थुप्रै अपराध गरेर यहाँ बस्न आएको भनेर लेख्या छन्’ भट्टले भनेका छन् ।

भट्टसँग कुराकानी गरिरहेका अर्का व्यक्तिले माओवादीमा थुप्रै अपराध गरेर एमालेमा बस्न आएको भनेर एमाले नेता शेरबहादुर तामाङले बोलेको भनेका छन् ।

तर, भट्टले तामाङबारे कुनै टिप्पणी गरेनन् ।

टोपबहादुर रायमाझी एमालेको दशौं महाधिवेशनबाट सचिव भएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका रायमाझी काठमाडौं जिल्ला अदालतको आदेश अनुसार १ असार २०८० मा जेल चलान भएका थिए । रायमाझीको जेल चलानको प्रसंग आएकाले भट्टको अभिव्यक्ति धेरै पूरानो नरहेको समेत देखाउँछ ।

बरु अध्यक्ष ओलीले नै आफूहरूलाई अपमानित गर्ने गरी मञ्चमा राखेर बोल्ने गरेको भनेर रोष प्रकट गरेका छन् ।

‘कहिले अध्यक्ष (केपी ओली), हामी मञ्चमा हुन्छौं, आतंककारी भनिदिनुहुन्छ हामीलाई । अपराधी, हत्यारा भनिदिनुहुन्छ’ भट्टको रोष छ । तर, आफूहरूले जनयुद्धप्रति गर्व गर्ने गरेको र गरिरहने भट्टको प्रतिबद्धता छ ।

पुरानो भिडियोमा भट्टले भनेका छन्, ‘तर हामी अहिले पनि गर्व गर्छौं क्या । अहिले पनि म भन्छु– जनयुद्ध नभएको भए आज केपी ओलीले पनि त्यसरी बोल्न सक्नुहुन्थेन । यो ठाउँ पाउनुहुन्थेन है ।’

भट्टले भने कार्यकर्तासँग गरिएका अनौपचारिक र पुराना कुरालाई अहिले अतिरञ्जित पेस गरिएको बताउँदै खण्डन गरेका छन् । उनले पार्टीमा बस्दा त्यसभित्रका मान्यता र अनुशासनलाई मान्नुपर्छ भन्ने अर्थमै आफू प्रस्तुत भएको कुरालाई गलत स्वार्थवश ‘सम्पादित क्लिपमात्रै बाहिर चलाइएको’ उनको भनाइ छ ।

‘जहाँ पनि संघर्ष हुन्छ । एमालेमा रहँदा एमाले नेतृत्वलाई स्वीकार गर्ने र अगाडि जाने नै हो भनेर मैले पूर्वमाओवादी साथीहरूलाई कन्भिन्स् गर्न खोजेको हुँ’ भट्टले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *