Wednesday, January 15

लेखराज भट्टले एमाले छाड्न लागेका हुन् ?

काठमाडौँ । नेकपा एमालेका सचिव लेखराज भट्टको एउटा अनौपचारिक संवादको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। त्यसमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पोखका छन् ।

कैलालीको अत्तरियास्थित आफ्नै निवासमा उनले एमालेमा रहेका पूर्वमाओवादी नेता तथा कार्यकर्ताहरूसँगको कुराकानीमा ओलीमाथि असन्तुष्टि पोखेको बताइन्छ ।

सो क्रममा भट्टले ओलीसहितका कतिपय एमाले नेताहरूमा अहंकार रहेको गुनासो गरेको सुन्न सकिन्छ । भट्टको यस्तो गुनासोअघि नै उनले एमाले छाड्न लागेको हल्ला समेत चलेका थिए । तर, रातोपाटीसँगको कुराकानीमा भट्टले आफ्नो पार्टी छोड्ने कुनै योजना नभएको बताएका छन् ।

मंगलबार रातोपाटीसँग संक्षित कुराकानी गर्दै उनले केही दिनयता आफूले एमाले छोड्न लागेको हल्ला चलेपनि निराधार भएको स्पष्ट पारे । यस्तो हल्ला माओवादीका नेताहरूले सुनियोजित रूपमा चलाएको उनको आरोप छ ।

‘मैले एमाले छोड्ने विचार गरेको छैन । यो बेकारको हल्ला हो । एमाले छोड्दैछ भनेर जुन हल्ला चलाइएका छन्, त्यो माओवादीले प्रायोजित रूपमा गरेका हल्ला हुन् । पार्टी नेतृत्वसँग अहिले पनि मेरो राम्रै सम्बन्ध छ । अहिले पनि म पार्टी काममै सक्रिय छु’, उनले भने ।

यद्यपि उनले माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोणमा पार्टी नेतृत्वसँग आफ्नो मतभेद भएको बताए । व्यवस्था परिवर्तनका लागि भएका बलिदान, योद्धालाई होच्याउने काम एमाले नेताबाट भए त्यसको प्रतिवाद गर्ने भट्टको भनाइ छ ।

‘एमालेमा माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोणमा मतभेद छन् । त्यसमा मैले प्रतिवाद गर्दै आएको छु । जनयुद्धमा मेरो पनि योगदान छ । मसहित नेपाली श्रमिक, मजदुर, किसान, महिला, पिछडिएका वर्ग, जनजाति, मधेसी, मुस्लिम, दलित सबै समुदायको त्याग, तपस्या, बलिदानबाट अहिलेको व्यवस्था आएको हो’, उनले भने, ‘एमालेको नेतृत्वले जनयुद्धलाई हिंसा भन्दा हामीलाई पनि चित्त दुख्छ । त्यसको प्रतिवाद गर्दै आएको छु । यदि जनयुद्धलाई अपमानित गर्ने, होच्याउने काम एमाले नेताबाट भए प्रतिवाद गर्छु ।’

माओवादी आन्दोलन कमजोर हुनुमा मूल समस्या प्रचण्डमा भएको उनले आरोप लगाए । भट्टले एमाले र माओवादीबिचको एकता कुनै सैद्धान्तिक र वैचारिक आधारमा नभई प्रचण्डकै स्वार्थका आधारमा भएको जिकिर गरे ।

‘माओवादी आन्दोलन कमजोर हुनुको मूल समस्या प्रचण्डको हो । त्यतिबेला हामीसँग कुनै छलफल नै नगरी आफ्नो स्वार्थको लागि प्रचण्डजीले एमालेसँग एकता गर्नुभयो । स्वार्थ नमिलेपछि एकता भङ्ग गर्नुभयो । आफूले एकता गर्दा क्रान्तिकारी हुने अनि हामी एमालेमा बस्दा गद्दार हुने जुन सोच उहाँको छ, त्यो गलत छ’, भट्टले भने, ‘मैले पहिले नै वैचारिक, सैद्धान्तिक विषयमा स्पष्ट नभएसम्म एमालेसँग एकता गर्न हुँदैन भनेको थिएँ उहाँले मान्नुभएन । एकता भएपछि अब पार्टी विभाजन गर्न हुँदैन भनेर मैले नै भनेको हो । तर पार्टी विभाजन भयो ।’

प्रचण्डले वामपन्थी शक्तिलाई एकीकृत गर्ने वा ध्रुवीकृत गर्ने हिसाबले एकताको आह्वान नगरेको उनले दाबी गरे । जनयुद्ध लडेका मूल नेतृत्व मोहन वैद्य, रामबहादुर थापा, बाबुराम भट्टराई प्रचण्डले किन सँगै राख्न सक्नुभएन त्यसको समीक्षा गर्नुपर्छ कि पर्दैन भनेर उनले प्रश्न गरे ।

‘दोष एमालेलाई मात्र दिएर हुँदैन । एकताबद्ध पार्टी बनाउन वैद्यलाई किन छुटाउनुभयो ? बादल, बाबुराम किन सँगै बस्न सक्नुभएन ? वामपन्थी एकता वा ध्रुवीकरण भनेर आह्वान गरेर मात्रै हुँदैन । इमानदार हुनुपर्‍यो । प्रचण्डको स्वार्थका लागि एकता गर्ने, स्वार्थ नमिलेपछि विघटन गर्ने कुरा हुँदैन । माओवादी घटकहरू एक ठाउँमा आउने हो भने सामूहिक प्रतिबद्धता चाहिन्छ । गल्तीको रियलाइजेसन हुनुपर्छ । व्यक्ति केन्द्रित सङ्कीर्ण स्वार्थले पार्टी एकता हुँदैन’, भट्टले भने ।

२०७७ साल फागुन २३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा विघटन भएपछि भट्ट, बादलसहित टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी लगायत माओवादी पृष्ठभूमिका नेताहरू एमालेमै रहेका छन् । लामो समय पार्टी काममा निष्क्रिय रहेका मणि थापालाई पार्टीले निष्कासन गरेको छ । प्रभु साहले २०७९ को निर्वाचनअघि विद्रोह गरेर छुट्टै पार्टी गठन गरेका छन् । रायमाझी नक्कली भुटानी शरणार्थी काण्डमा जेलमा छन् । एमालेभित्र पूर्वमाओवादी नेताहरू पछिल्लो समय गुमनाम जस्तै देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *