Wednesday, January 15

जय ट्रफी फाइनल : खराब मौसमका कारण खेल सुरू हुन ढिलाई

१ माघ, काठमाडौं । मधेश प्रदेशमा जारी जय ट्रफी एलिट कप २०८१ को फाइनल खेल आजदेखि हुँदै छ । तीन दिवसीय फर्म्याटमा हुने उपाधि भिडन्तमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदै छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा विहान साढे ९ बजेदेखि पहिलो दिनको खेल सुरू हुने तय भएपनि अझै सुरू हुन सकेको छैन । खराब मौसमका कारण खेलको टस नै हुन सकेको छैन ।

प्रतियोगिताकै पहिलो दिनको खेल पनि खराब मौसमका कारण ढिला गरी सुरू भएको थियो । यसअघिका सम्पूर्ण लिग खेल दुईदिवसीय भएपनि फाइनल खेल भने तीन दिवसीय हुनेछ ।

आरिफ शेखको कप्तानीमा रहेको पुलिस लिग चरणमा शीर्ष स्थानमा रहेको थियो भने विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी दोस्रो स्थानमा रह्‍यो । पुलिसले दुई खेल जित्दा एकमा ड्र खेलेको थियो । त्यसैगरी आर्मीले एक खेल जित्दा दुई खेलमा ड्र खेल्यो ।

पुलिसले पहिलो खेलमा आर्मीसँग ड्र खेलेपछि मधेश प्रदेश र बागमती प्रदेशलाई हराएको थियो । आर्मीले पहिलो खेलमा पुलिससँग ड्र खेल्दा दोस्रो खेलमा बागमती प्रदेशसँग ड्र खेलेको थियो । तेस्रो खेलमा मधेश प्रदेशलाई हराएको थियो ।

पुस २१ देखि सुरू भएको प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा शीर्ष चारमा रहेका टोलीहरूले प्रतिस्पर्धा गरेका थिए । सिङ्गल राउण्ड रोबिनका आधारमा भएको लिगमा कुल ६ खेल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *