Thursday, December 26

केपी बाको क्रेज, सुनिताको मुस्कान : कुन नेताको के राम्रो ?

जब नेताको कुरा आउँछ, नेपाली समाज पीठ फर्काएर बसिदिन्छन् । अर्थात् उनीहरुलाई नेताको अनुहार हेर्नु छैन, नेताको कुरा गर्नु छैन, नेताको कुरा सुन्नु छैन । गाउँघरमा नेताहरु विकासे नारा बोकेर भाषण गर्न पुगे के भन्छन् ? यसको सटिक जवाफ त राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दिइसकेका छन् । र, त्यो बिटुलो शब्द यहाँ लेखिरहनु परेन । तर, यो भीडमा केही नेता यस्ता छन् वा नेताका केही यस्ता पक्ष छन्, जो तारिफयोग्य छन् ।

सन्त–महात्माहरु भन्ने गर्छन्, ‘सम्यक दृष्टि लगाऔं । सकरात्मक सोच ।’ यही कुरा शिरोधार्य गर्दै हेर्दा हाम्रा नेताहरु कस्ता देखिएलान् ?

बालेनको स्टारडम

अक्सर कालो चस्मा लगाउने, टिसर्टमाथि कोट पहिरिने, फिटिङ्स जिन्स लगाउने बालेन जसै सार्वजनिक ठाउँमा उभिन्छन्, उनीसँग सेल्फी खिच्ने भीड ओइरिन्छ । यसअघि काठमाडौं महानगरका मेयर को भए वा थिए ? थाहापत्तो नपाउने पुस्तामाझ पनि बालेन चिरपरिचित छन् । त्यसैले त जहाँ जहाँ बालेन पुग्छन्, यस्तो लाग्छ कि त्यहाँ कुनै ‘हिरो’को इन्ट्री हुँदैछ ।

कतिसम्म भने, उनी उपस्थित कार्यक्रममा अरु ‘अतिथिगण’ ओझेलमा पर्छन् । केही वर्षअघि बसन्तपुरमा इन्द्रजात्रा हुँदै थियो । त्यहाँ तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा हाजिर थिए । तर जात्रा हेर्न आएका हजारौं दर्शकले बालेनलाई देख्नसाथ यसरी ‘हाई–हाई’ गरे कि ती ‘हाइप्रोफाइलहरु’ हेरेको हेर्‍यै भए ।

बालेन धेरै बोल्दैनन्, भाषणबाजी गर्दैनन्, अन्तर्वार्तामा छ्यापछ्याप्ती छाउँदैनन्, अनेक फन्डा गर्दैनन् । तर झोंक चल्यो भने सामाजिक सञ्जालबाटै यसरी आफूलाई व्यक्त गर्छन् कि, त्यसले सानोतिनो त भुईंचालो ल्याउँछ ।

उनी हक्की छन् । निडर छन् । कुरा चपाउँदैनन् । कुरा घुमाउँदैनन् । मनमा लागेको कुरा सोझै ठोकिदिन्छन् । बालेनको बानीव्यवहार हेर्दा यस्तो लाग्छ मानौं फिल्म ‘पुष्पा’को यो संवाद उनकै लागि लेखिएको हो, ‘झुकेगा नहीं साला ।’

सुनिताको मुस्कान

सुनिता डंगोल । यो नाम सम्झनासाथ तपाईंको दिमागमा कस्तो चित्र बन्छ ? नि:सन्देह मन्द मुस्कानसहितको एउटा सौम्य अनुहार । सुनिता डंगोललाई खास बनाउने त्यही मुस्कान हो, जो हरदम उनको ओठमा देखिन्छ । चाहे अन्तर्वार्तामा होस् वा कुनै सभा-समारोहमा, उनी उसैगरी मुसुमुसु हाँसिरहेको देखिन्छन् । दुई हात जोडेर भोट माग्दै हिंड्दा होस् वा उपमेयरको कुर्सीमा बसेर बहस गरिरहँदा उनी हाँसिरहेकै हुन्छन् । अक्सर नेताको एउटा साझा प्रवृत्ति हुन्छ, भाषण गरिरहँदा रातोपिरो भएर चर्को–चर्को स्वरमा बोल्ने । तर सुनिता अपवाद हुन् जो मुसुमुसु हाँस्दै भाषण ठोक्छिन् ।

न विवादित छन्, न स्टनबाजी गर्छन् । भ्रमको खेती गर्दैनन्, कसैप्रति वैरभाव जगाउँदैनन् । सधैं उस्तै र उही रहन्छन् ।

त्यसो त उनी ग्ल्यामर क्षेत्रबाट राजनीतिमा आएका हुन् । नेता बन्नुअघि उनी एक स्थानीय सौन्दर्य प्रतियोगिताको विजेता बनेकी थिइन् । रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताको रुपमा पनि धेरैले उनलाई चिन्ने गरेका छन् ।

रवि लामिछानेको फूर्ति

बोलीचालीमा फूर्ति र फूर्तिलो शब्दबीच थोरै भेद छ । फूर्तिलाई मान्छेले नकारात्मक वा दम्भको रुपमा पनि बुझ्ने/बुझाउने गर्छन् । तर यहाँ फूर्तिलाई त्यसरी अनर्थ लगाइएको छैन । त्यसैले यहाँ फूर्ति भन्नले फूर्तिलो भनी बुझ्नुपर्ने हुन्छ ।

रवि लामिछानेको अरु कुरा बिर्सनुहोस्, उनी कम्ता फूर्तिलो देखिंदैनन् । उनी जोशिला र जाँगरिला देखिन्छन् । उनी त हिंड्दा पनि यस्तो देखिन्छन् मानौं दौडिरहेका छन् । यस्तो गतिशीलता अरुमा कहाँ देखिन्छ ?

फटाफट हिंड्ने, जोडदार बोल्ने, सफाचट हुने उनी ताजा र चिरिच्याट्ट देखिन्छन् सधैंजसो । हाई काड्दै बस्ने, अल्छी मान्दै सुस्ताउने, झर्को मान्दै बटारिने प्रवृत्ति उनमा छैन, जो अरु थुप्रै नेतामा देखिन्छ ।

कर्मठ हर्क साम्पाङ

साँझ पर्नासाथ फेसबुकमा खेल्ने दोहोरी, अरुलाई चिड्याउँदै गाउने बेसुरो गीत, कहिल्यै नछाड्ने ढिपी बिर्सिएर हर्क साम्पाङलाई हेर्नुहोस् त । उनी कस्ता देखिन्छन् ? साह्रै इमानी र कर्मठ ।

न उनलाई विदेश जाने अफरले लोभ्याउँछ, न शान–सौकातको जीवनशैलीले आकर्षित गर्छ । न कसैको धाक–धमासले तर्साउँछ, न कसैको प्रभावले पगाल्छ । चाहे गतिला नेता–मन्त्रीसँग, चहकिला सेलिब्रेटीसँग भेटघाट गर्दा होस् वा श्रमिक–मजदुरसँग, उनी उस्तै र उही रुपमा प्रस्तुत हुन्छन् । न आफूलाई ठूलो देखाउँछन्, न सानो नै ।

सुकिलो–मुकिलो भई घुम्ने मेचमाथि बसेर गफ हाँक्ने वा रिबन काट्दै, भाषण छाट्दै हिंड्ने रहर उनमा देखिंदैन । बरु कम्मरमा खुकुरी भिरेर, खुट्टामा गमबुट लगाएर कहिले पानीको पाइप बोक्ने, कहिले ढुंगा बोक्ने गरिरहेका हुन्छन् । अरु कुरालाई छाडेर हेर्दा उनी सरल र कर्मयोगी देखिन्छन् ।

‘केपी बा वि लभ यु’

२०७७ साल चैत महिनाको कुरा हो । दशरथ रंगशालामा थ्री नेसन्स कपका लागि बंगलादेश र नेपालबीच भिडन्त हेर्न पुगेका थिए प्रधानमन्त्री केपी शर्मा ओली । प्रतियोगितामा नेपालले उपाधि जित्यो र मैदानमा खुसी साट्न उभिए, ओली । ठीक यही बेला नेपाली खेलाडीहरुले स्वरमा स्वर मिलाउँदै हुटिङ गरे, ‘केपी बा, वी लभ यु ।’

यो कुनै नियोजित नारा थिएन, स्वत:स्फूर्त थियो । उनीहरु कुनै पार्टीका सदस्य थिएनन्, स्वतन्त्र थिए । र, त्यो नारा कुनै पार्टी अध्यक्ष वा प्रधानमन्त्रीका लागि थिएन, केपी बाका लागि थियो ।

केपी बा । यो नामप्रति बेग्लै क्रेज छ, नेपाली समाजमा । जहाँ–जहाँ केपी ओली पुग्छन्, उत्सुक भीडले घेरा हाल्छन् । सेल्फी खिचाउँछन् । हात मिलाउँछन् । र, उमंगले कराउँछन्, ‘केपी बा, केपी बा ।’ पार्टीका कार्यकर्ता वा उनका समर्थक मात्र होइनन्, राजनीतिबाट बाह्र हात पर रहेका सर्वसाधारणलाई पनि केपी बा देख्नासाथ फूर्ति बढिहाल्छ । बुढापाकादेखि बालबच्चासम्म उनका ‘फ्यान’ छन् ।

राजनीतिमा उधुम मच्याएर प्राप्त क्रेज होइन यो । बरु, हास्यरसयुक्त रसिला–चोटिला वाक कौशलले सर्वसाधारणलाई लोभ्याएको हो । तामझामसहितको उपस्थिति, दर्बिलो आत्मविश्वास, कहिल्यै नझुक्ने शीर, सानोतिनो कम्पन पैदा गर्ने भाषणकला र स्टनबाजीले पनि उनीप्रतिको यो आशक्ति बढाएको छ । त्यसैले त कतिपय भन्छन्, ‘उनी सेलिब्रेटी नेता हुन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *