Monday, December 23

‘हाइट, साइज र अनुहार मिल्ने मात्रै हिरो हुनुपर्छ भन्ने छैन’

काठमाडौं । ‘गुरुचेला’बाट अभिनय करिअर थालेका जितु नेपालको पछिल्लो फिल्म ‘ज्वाइँ साब’ दशैंको फूलपातीमा असोज २४ गतेदेखि प्रदर्शन हुँदैछ । निश्चित शारीरिक आकारको कलाकार मात्र नायक बन्छ भने परम्परागत सोचाइलाई चुनौती दिंदै जितुले अहिले लगातार कथानक फिल्ममा केन्द्रीय भूमिका निर्वाह गरिरहेका छन् ।

‘ह्यारीकी प्यारी’पछि उनी ‘ज्वाइँ साब’मा लिड रोलमा छन् । मुन्द्रे नामले समेत चर्चित जितुलाई ‘छक्कापञ्जा’ले पनि चर्चा दिलायो । फूलपातीमा उनले अभिनय गरेको पूर्वफिल्म ‘छक्कापञ्जा’ श्रृंखलाको पाँचौं भाग रिलिज हुँदैछ भने अर्कोतिर जितुकै शीर्ष अभिनय रहेको ‘ज्वाइँ साब’ पनि आउँदैछ । यिनै विषयमा केन्द्रित रहेर अभिनेता नेपालसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :

फिल्म ‘ज्वाइँ साब’ नेपाली ज्वाइँहरुको यथार्थ हो ?

ज्वाइँ हुनका लागि भोग्ने सानो यथार्थ चाहिं हो । भइरहेका ज्वाइँ चाहिं यसप्रकारका छैनन् । ज्वाइँ बन्न जाने र ज्वाइँ बनाउने क्रममा गरिएका विभिन्न घटनाक्रमको एउटा पात्र हो । मलाई सुरुमा कथा सुनाउँदा पनि अहिले आइरहेको र फरक खालको लागेर खेलेको हुँ । एउटी महिलासँग विवाह गरेर उसको घरमा जानुपर्ने बाध्यता र ज्वाइँ पनि बनाउनुपर्ने बाध्यताबीच गोवर्धन पण्डित नामक पात्रको कथा हो ।

हामीले फिल्ममा देखाए जस्तो रुँदै जाने, भित्रिने, श्रीमतीले श्रीमान भित्राउने भन्ने कल्पना मात्र हो, यथार्थ होइन । अहिले पनि विवाह गर्दा दुलही भित्रिने क्रम छ । छोरी विवाह गरेपछि ज्वाइँ सो घरको छोरो सरहकै हुन्छ । एउटै सन्तानलाई विवाह गरेर दिएपछि त्यो घर पनि रित्तिन्छ । दुलहीले दुलाहाको घरलाई रिझाउनुपर्ने, हेर्नुपर्ने हुन्छ भने त्यो दुलाहाले पनि दुलहीको घरलाई पनि हेर्नुपर्छ । यथार्थमा ज्वाइँ पनि छोरासरह नै हुन्छ भन्ने हो ।
ट्रेलर हेर्दा कमेडीसँगै गम्भीर सन्देश पनि बोकेको छ । यसले मनोरञ्जनसँगै कस्तो सन्देश प्रवाह गर्छ ?

पहिलो त मनोरञ्जनात्मक र पारिवारिक कथावस्तु नै हो । ‘ज्वाइँ साब’ भन्ने शीर्षकमा फिल्म बनाइसकेपछि त्यस्तै पाराको हुनुपर्छ । ज्वाइँ साब ससुराली आउँदा सम्मानित पात्र हो । आएका घरमा ज्वाइँलाई हेला गर्ने हुँदैनन् । त्यस्तो परिधिभित्र रहेर टाइटल सुहाउँदो बनेको छ । सन्देश मात्र दिएर हुँदैन । कथा वरपर कमेडी गर्दागर्दै संवेदनशील र भावुक दृश्य पनि यसले छोएको छ ।

तपाईंको अभिनय करिअरमा ‘ज्वाइँ साब’ले के अर्थ राख्छ ? तपाईंको साढे दुई दशकको यात्रामा कमेडीलाई हेर्ने दृष्टिकोणमा केही भिन्न पाउनुभएको छ ?

पहिला कमेडी गर्दा कि भिलेनको चम्चा जस्तै हुन्थ्यौं । कि त हिरो वा हिरोइनको साथी हुन्थ्यौं । पहिला-पहिला यसलाई अचार, चट्नीको रुपमा कमेडीलाई पस्कने गरिन्थ्यो । विस्तारै कमेडी मेनस्ट्रिममा छिर्‍यो । हलिउड वा बलिउड, जहाँ पनि कमेडी फिल्मलाई बढी रुचाउन थालियो । पहिला हास्य कलाकार भनेर कमेडियन नै राख्नुपर्थ्यो ।

अहिले नायकले पनि कमेडी गरिराख्या छन् । छिमेकी देशका फिल्ममा पनि यस्तो देखिन्छ । ‘ज्वाइँ साब’मा शीर्ष भूमिका गर्नुपर्ने भएकाले जिम्मेवारीपूर्वक गर्नुपर्ने आधार र चुनौती पनि थियो । कतै मान्छेले नस्वीकार्ने हुन् कि भन्ने पनि थियो । कमेडी कलाकारलाई हँसाउन सजिलो छ तर रुने वा इमोसन छ भने फेरि गाह्रो हुन्छ ।

म हाँसीमजाक र ठट्यौली गर्नुपर्ने मान्छे, भावनात्मक पनि हुनुपर्ने चुनौतीले गर्दा मैले सकेसम्म गरेको छु । मेरो लागि ज्वाइँ साब पर्दाको कोसेढुंगा हुन्छ । ज्वाइँ साबले नै अबको मेरो यात्रा तय गर्छ जस्तो मलाई लाग्छ ।

कहिल्यै लिड एक्टर बन्छु भनेर सोच्नुभएको थियो ? योजना थियो कि एक्सिडेन्टल्ली ?

कलाकार बन्छु भनेर मैले सोच्या होइन । सामान्य मध्यमवर्गीय परिवारको मान्छे सिन्धुपाल्चोकमा घाँसदाउरा गर्दै आएको हुँ । एसएलसी पास गरेपछि सानोतिनो जागिर पाइएला, आमाबुवालाई दुई–चार हजार पनि पठाउन पाइएला र मैले पनि काम गर्दै पढ्न पनि पाउँछु, आईए बीएसम्म पढ्न पाइएला भनेर आएको हुँ । टिभीमा अनुहार देखाउने रहरले मात्र त्यहाँ छिरेको हुँ ।

म कलाकार बन्छु भन्ने कुनै ठूलो उद्देश्य थिएन । टिभीमा अनुहार देखाउँदा देखाउँदै त्यही लाइनका मान्छेसँग घुलमिल हुन थाल्यो । रहरैरहरमा आएको हुँ म । १०-१५ वर्षमा त केही नबुझीकन रहरमा खेल्दै गएँ । जब मैले नेपाल टेलिभिजनमा ‘जीरे खुर्सानी’ गर्ने अवसर पाएँ त्यसपछि बिस्तारै बुझ्दै, आफूले सकेको काम गर्दै आएँ । यहाँसम्म आइपुग्नु र यो लाइनमा आइपुग्नु नै मेरो ठूलो एक्सिडेन्ट हो ।

फिल्मको नायकको रुपमा नेपाली दर्शकले हास्य कलाकारलाई स्वीकारेको अवस्था हो यतिबेला ?

मैले हिरो र मुख्य भूमिका लेखकको कारणले पाएँ । पात्र खडा गर्‍या त मैले होइन । एक जमानामा हिरोको कथा लेख्दा हिरोलाई नै आधार मानेर लेखिन्थ्यो । जीउडाल पनि हिरो नै हुनुपर्ने, अग्लो हुनुपर्ने, पाखुरा बलियो हुनुपर्ने, दुई-चार जना गुण्डा लखेटेर इन्ट्री हुने त्यो खालका थियो । ती सबै चीज हुँदैहुँदै अहिले अर्गानिक कुरामा मान्छे आउन थाले । कथा लेख्नेले पनि भिन्न परिस्थिति र फरक खालका खोज्न थाले । यसअनुसार हामीजस्ता हास्य कलाकारले मेनस्ट्रिममा लिड रोल गर्न पायौं ।

‘पूर्णबहादुरको सारंगी’ फिल्ममा लिड रोल विजय बरालले गर्नुभएको छ । किनभने त्यसमा उहाँलाई सुहाउँछ । त्यो प्रकारका फिल्म बन्छन् र त्यो प्रकारको स्क्रिप्ट लेखियो भने चाहिं हामीजस्ता सबैले लिड रोलमा अभिनय गर्न पाउँछन् ।

शारीरिक कद र आवरणलाई नेपाली फिल्मले हिरो मान्छ । त्यस विपरीत तपाईंहरु जस्ता कलाकार हिरो बनेर आउनुको सामाजिक अर्थ के छ ?

नायकले खुट्टो उचाल्दैमा पाँच जना मान्छे लडिहाल्ने यथार्थ त होइन । त्यो पनि फिल्म नै हो । हाइट, साइज र अनुहार मात्रै मिल्ने हिरो हुनुपर्छ भन्ने छैन । यही फिल्मको ट्रेलर, टिजर र गीत आइरहँदा हाइटै मिलेन, नीतिको हिरो जितु, यस्ता दिन पनि आए, के हेर्नू, ओहो यसलाई हिरो नभन् भन्ने खालका कमेन्ट आए । लेखिएको स्टोरी नै यस्तै हो । यदि नीति शाहलाई जोडी सुहाउने, अग्लो र ह्यान्डसम केटा हो भने यो फिल्म नै बन्दैन ।

गोवर्धन पण्डितको जुन पात्र छ, त्यही प्रकारकै चाहिने हो । उहाँलाई पनि यस्तै ज्वाइँ चाहिएको छ, गोवर्धन पण्डितलाई पनि यस्तै केटी चाहिएको छ । फिल्मको कथा यही हो । कथावस्तुले उत्पादन गरेको पात्र हो । हिरोलाई हेरेर लेखिएको फिल्म होइन । पात्र हिरो हो । कथावस्तुको पात्र जुन छ, त्यही पात्र हिरो हो ।

दर्शकले भिन्न स्वाद खोज्न थालेका छन् । अर्गानिक खान थाल्या छन् । सकभर गाउँकै चीज खान खोज्छन् । फिल्ममा पनि भिन्न सोचाइ र धार आउन थाले ।

बक्स अफिसमा तपाईंले अभिनय पहिलेको फिल्मको शृंखला र अहिलेको फिल्म एकैदिन रिलिज हुँदैछन् । यो अवस्थालाई कसरी हेर्नुहुन्छ ?

‘छक्कापञ्जा’ समूहमा म थिएँ र आज मबाटै ‘ज्वाइँ साब’ जन्मियो । आज म ज्वाइँ साबको लिड रोलमा हुन्थे हुँदिनथें त्यो पछिको कुरा हो । संयोगवश वा विविध कारणले म ‘छक्कापञ्जा’मा रहिनँ । हामी व्यावसायिक रुपमा फिल्ममा हुँदैनौं भन्ने कुरा त दीपकराज गिरीले भनिसक्नुभएको छ । त्यसपछि म स्वतन्त्र भएँ । त्यही हिसाबमा ह्यारीकी प्यारी आयो, ज्वाइँ साब आयो ।

वितरक र निर्माताकै सल्लाहमा दशैंमा ‘ज्वाइँ साब’ ल्याइएको हो । छक्कापञ्जा पनि भएको र सोही समूहको जितु नेपाल पनि यता हुँदा सेफ साइड हुन्छ भनेर वितरकले भनेपछि फिल्म आएको हो । निर्माताले रिस्क लिन्छु र तपाईंले नाइँ नभन्दिनुस् भनेर आग्रह गरेपछि मैले हस् भनिदिएको हुँ ।

तपाईँ ‘छक्कापञ्जा’मा पुनः जोडिने सम्भावना के छ ?

म जिन्दगीमा इगो नभएको मान्छे हुँ । हामी हिजो सँगै भएर काम गरेका हौं । कुनै त्यस्तो दुश्मनी केही छैन । मलाई चलचित्र क्षेत्रका कुनै मान्छेसँग फेरि काम गर्न कुनै गाह्रो छैन । म ढुक्क छु । मेरो तर्फबाट छक्कापञ्जामा पुनः जोडिने ढोका खुल्ला छ । मिल्न नसकिने भन्ने छैन । राजनीतिमा पनि कोसँग मिलेर कसले सरकार बनाइराख्या हुन्छ । मनोरञ्जन दिन इगो साँध्न जरुरी छैन, मिल्नुपर्छ । मान्छे कोही पनि चलचित्र क्षेत्रमा शत्रु हुँदैनन् । आफ्नो चीज राम्रो भइदियोस् भन्ने चाहना मात्र हो ।

तपाईंलाई कस्ता कथामा काम गर्न मन छ ?

मैले आफैंले सोच्या पनि छु । यसपछि दयाहाङ राईजीसँग गरेको फिल्म ‘कार्साङ’मा एउटा रोल गरेको छु । मेरो जोडीमा दीया मास्के हुनुहुन्छ । मैले गर्न चाहेको पनि केही रोल यसमा छ । टिपिकल नेपाली घरघरमा हुने साना इस्यु र इस्युले मान्छेलाई पारेको प्रभाव, मान्छेले बिर्सेका सामान्य तर यथार्थ कुरामा काम गर्न मन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *