Wednesday, December 25

कवाडको ठेक्कामा कमिसन हत्याउन गुण्डागर्दी

५ कात्तिक, ललितपुर । प्रहरीको आक्रामक कारबाही, ठेक्का पट्टामा ई–टेण्डरको व्यवस्था लगायतका कारणले घट्दै गएको गुण्डागर्दी फेरि सुरु हुने संकेत देखिएको छ ।

ललितपुरमा कवाडको ठेक्का लिने व्यक्तिसँग रकम असुली गर्न एउटा समूहले निर्घात कुटपिट गरेको घटना सतहमा आएको छ । ठेक्कावापत आफूहरुलाई कमिसन दिनुपर्नेमा नदिएको भन्दै त्यो समूहले ठेक्का पाउने व्यक्तिलाई कुटपिट गरेको हो ।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार, बालाजु औद्योगिक क्षेत्रको कवाड सामग्रीको टेण्डर ६ लाख १० हजार रुपैयाँमा हात पारेपछि त्यसवापत १० लाख रुपैयाँ दिन भन्दै अभिमानसिंह बस्नेतसहितको समूहले महावीर सुनुवारलाई धम्की दिइरहेको थियो ।

त्यहीबीच उनलाई पैसा माग्नेमध्ये अभिमानसिंह बस्नेत, तिलक जैसवाल, राजु दंगाल र आशिष बस्नेतले बालकुमारीको माँ जानकारी ट्रेडर्समा बोलाएका थिए ।

पीडितले प्रहरीलाई बताए अनुसार, कवाड उठाउन सक्ने स्थिति नभएपछि उनीहरुले बोलाउँदा छलफल गर्न सुनुवार त्यहाँ पुगेका थिए ।

ठेक्का पाएका महावीर सुनुवारले त्यहाँ पुगेलगत्तै आफू एक्लैले ठेक्का नपाएको भन्दै अर्को साझेदारको नाम लिएका थिए । त्यसक्रममा सुनुवारको फोनबाट सम्पर्क गरेर उनका साझेदार रविशंकर प्रसादलाई पनि त्यहाँ बोलाएको प्रहरीको भनाइ छ ।

रविशंकर पुग्ने वित्तिकै चार जनाको समूहले उनीमाथि निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालका अनुसार, कुटपिट गरेको भिडियो समेत बाहिर आएपछि प्रहरीले यसमा छानबिन थालेको थियो । त्यसक्रममा चार जनालाई पक्राउ गरेर हिरासतमा राखिएको उनले बताए ।

‘६ लाख १० हजार रुपैयाँको टेण्डरमा उहाँहरुले १० लाख मागेपछि दिनसक्ने स्थिति भएन’, नेपाल कवाड संघका अध्यक्ष सञ्जय शाहले अनलाइनखबरसँग भने, ‘त्यही पैसा नदिने भन्ने संकेत पाएपछि कुटपिट भएको हो ।’ कुटपिटलगत्तै बाहिर निस्किएर महावीरले प्रहरी कन्ट्रोल १०० मा फोन गरेको उनले बताए ।

‘त्यसपछि प्रहरी आएर उहाँहरुलाई लगेको थियो, दिनदहाडै यसरी कुटपिट हुने हो भने हामीले कसरी व्यवसाय गर्ने ?’, उनी प्रश्न गर्छन् ।

ललितपुरका अनुसन्धान अधिकृतहरु भने पक्राउ परेका व्यक्तिहरु सत्तारुढ दलहरुकै भातृ संगठनसँग जोडिएकाले छाड्न दबाब आइरहेको बताउँछन् ।

ललितपुर प्रहरीका एसपी नवरत्न पौडेलका अनुसार, झैझगडा गरेका कारण पक्राउ परेकाले २४ घण्टासम्म प्रहरीले उनीहरुलाई हिरासतमा राख्छ । ‘त्यसपछि के हो बुझेर मुद्दा चलाउने वा नचलाउने भन्ने टुंगो लाग्छ’, उनले भने, ‘प्रारम्भिक सोधपुछ गरिरहेका छौं ।’

पीडितहरुले ललितपुर प्रहरीमा ठाडो निवेदन दिएका छन् । अब ज्यान मार्ने उद्योगमा निवेदन दिने तयारी रहेको उनीको भनाइ छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, ६ लाख १० हजार रुपैयाँमा कवाड संकलनको टेण्डर हात पारेपनि त्योभन्दा दोब्बर फाइदा हुने भएकाले यो ठेक्कामा हानथाप हुने गरेको छ ।

पक्राउ परेकाहरु विवादास्पद पृष्ठभूमिका व्यक्ति भएको प्रहरी बताउँछ । पीडितले भने उनीहरुसँग हतियार समेत भएको दाबी गरेका छन् । तर, प्रहरीले भने कुनै पनि हतियार बरामद नभएको जनाएको छ ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *