Wednesday, December 25

छठको अन्तिम दिन उदाउँदो सूर्यलाई दिइयो अर्घ

२३ कात्तिक, काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न भएको छ । व्रतालुहरुले हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । त्यसपछि रातभर जाग्राम बसेका उनीहरुले आज उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व चार दिनसम्म मनाइन्छ । सूर्यको उपासना र छठी माताको पूजाआराधनाले पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

यही विश्वासका साथ छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा भेला भएर श्रद्धालुहरुले पूजासमाग्री सूर्यलाई अर्घ दिने गर्दछन् ।

यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठेकुवा, भुसुवा, केरा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल चढाउने गरिन्छ ।

अर्घ्य दिइएका छठ पूजाको सामग्री प्रसादको रुपमा ग्रहण गर्ने तथा वितरण गर्ने प्रचलन छ । पहिलापहिला मिथिलाञ्चलसहित तराई मधेशका बासिन्दाले मात्र मनाउने छठ पर्व पछिल्लो समय पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

काठमाडौं उपत्यकामा बसोबास गर्नेहरुले कमलपोखरी, गौरीघाट लगायतका स्थानबाट छठ पूजा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *