२५ कात्तिक, काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति बन्न योग्य तथा इच्छुक उम्मेदवारले मंसिर ४ गतेभित्र दरखास्त दिन सक्ने छन् ।
उपकुलपति सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी ‘पोखरा विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१’ बमोजिम १० दिनभित्र दरखास्त दिन भनेको छ ।
पोखरा विश्वविद्यालयको उपकुलपतिमा २०७७ असोज १४ गते नियुक्त भएका प्रा.डा. प्रेमनारायण अर्यालको चार वर्षे कार्यकाल समाप्त भएपछि नयाँ उपकुलपति छनोट प्रक्रिया सुरु गरिएको छ ।
उपकुलपति छनोट तथा सिफारिसका लागि शिक्षा मन्त्रीको अध्यक्षतामा समिति गठन गरिएको छ । शिक्षा मन्त्रालयको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्रीबाट उपकुलपति नियुक्त हुने व्यवस्था छ ।