Tuesday, December 24

खराब ब्याटिङसँगै अस्ट्रेलियाले पाकिस्तानसँगको घरेलु श्रृंखला गुमायो

२५ कात्तिक, काठमाडौं । खराब ब्याटिङबाट गुज्रिएको अस्ट्रेलियाले पाकिस्तानसँगको घरेलु एकदिवसीय श्रृंखलामा हार व्यहोरेको छ । आइतबार भएको तेस्रो एकदिवसीय खेलमा पाकिस्तान ८ विकेटले विजयी भएसँगै अस्ट्रेलियाले श्रृंखला २-१ ले गुमाएको हो ।

अस्ट्रेलियाले दिएको १४१ रनको लक्ष्य पाकिस्तानले २६ ओभर ५ बलमा २ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानका लागि ओपनर सैम अयुबले सर्वाधिक ४२ रनको इनिङ खेले भने अर्का ओपनर अबदुल्लाह शफिकले ३७ रन बनाए । कप्तान मोहम्मद रिजवान ३० तथा बाबर आजम २८ रनमा अविजित रहे । अस्ट्रेलियाका लागि दुवै विकेट लान्स मोरिसले लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ३१.५ ‌‌ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो । उसका लागि शन एबटले सर्वाधिक ३० रन बनाएका थिए भने ओपनर म्याथिउ शर्टले २२ रन बनाए । एडम जाम्पाले १३ रन जोड्दा स्पेन्सर जोनसोन १२ रनमा अविजित रहे ।

पाकिस्तानका लागि शाहीन अफ्रिदीले ८.५ ओभरमा ३२ रन दिएर ३ विकेट लिए भने नसीम साहले ९ ओभरमा ५४ रन दिएर ३ विकेट लिए । हारिस राउफले २ तथा मोहमद हसनैनले १ विकेट लिए ।

यसअघि पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २ विकेटले हराएको थियो भने दोस्रो खेलमा पाकिस्तानले ९ विकेटको सहज जित निकालेको थियो । दुई टोलीबीच अब तीन खेलको टी-२० श्रृंखला पनि हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *