Monday, December 23

एमालेले पाउने जग्गा भाटभटेनीको नाममा आयो, सोमबार सर्वोच्चमा पनि सुनुवाइ

२६ कात्तिक, काठमाडौं । एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि अर्कै व्यवसायीको नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास भएको छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको करिव एक महिनापछि उक्त जग्गा बल्ल आफ्नो नाममा लिएका हुन् ।

जग्गादानको घोषणा गर्दा उक्त जग्गा कालु गुरुङ लगायत सञ्चालक रहेको रोड सो रियल स्टेटका नाममा थियो । केही दिनअघि उक्त जग्गा नामसारी भएको हो ।

‘बिक्री प्रक्रियामार्फत रोड सो रियल स्टेटका नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोर प्रा.लि.का नाममा आएको छ’ मालपोत कार्यालय, कलंकी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तिहार बिदापछि उक्त जग्गा पास गर्ने काम भइसकेको छ ।’

गुरुङले दशैंको फूलपातीका दिन एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गादान घोषणा गरेका थिए । घोषणा अनुसार, उनले एक वर्षभित्र आफैले तीनवटा भवन बनाएर एमालेलाई जग्गा र भवन हस्तान्तरण गर्नेछन् ।

भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले त्यही जग्गादानको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुनुभन्दा अघि नै उक्त जग्गा आफ्नो कम्पनीको नाममा सारेको देखिन्छ ।

आज सर्वोच्चमा सुनुवाइ

भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ दायर भएको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबारका लागि दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको छ ।

सोमबारका लागि तोकिएको सुनुवाइ न्यायाधीशहरु डा. नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । न्यायाधीश पाण्डेय संसदीय सुनुवाइबाट अनुमोदन भएर आइतबार मात्रै नियुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *