Monday, December 23

माओवादी केन्द्रको निर्णय : समाजवादी मोर्चाबाहेकसँग चुनावी तालमेल नगर्ने

२६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदार बाहेकका दलसँग सहकार्यको ढोका खुला राख्ने भएको छ । माओवादी केन्द्रले समाजवादी मोर्चासँग उपनिर्वाचनमा सहकार्यको ढोका खुला राखेको हो ।

आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा स्थानीय तह उपनिर्वाचनबारे छलफल भएको थियो । सो बैठकपछि माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले अनलाइनखबरसँग भनिन्, ‘समाजवादी मोर्चासँग सहकार्यको ढोका खुला राख्ने भन्ने छ ।’

समाजवादी मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन् । २०८० असार ४ गते मोर्चा घोषणाका बेला उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसमेत सामेल भए पनि हाल उसले मोर्चाबाट अलग भएको घोषणा गरेको छ । हाल यो मोर्चा निष्कृयसमेत छ ।

स्थानीय तह उपनिर्वाचनअघि मोर्चाका नेताहरुबीच छलफलसमेत चलाउने तयारी माओवादी केन्द्रको छ । तर सत्ता साझेदार दलसँग भने उपनिर्वाचनको सन्दर्भमा छलफल र सहकार्य नगर्ने माओवादीले जनाएको छ ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, ‘कांग्रेस-एमालेसँग सहकार्य हुँदैन । अरुसँग भने छलफलका लागि खुला रहने भन्ने छ ।’

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको माहोल देशभर राम्रो हुँदै गएको सुनाउँदै चुनाव जित्ने सम्भावना रहेको संश्लेषण गरेका थिए । त्यसैले माओवादी केन्द्रको पक्षमा नतिजा निकाल्ने गरी अझै मिहिनेत गर्न उनले नेताहरुलाई निर्देशनसमेत दिएका थिए ।

उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रले जित्ने गरी तयारी गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार उपनिर्वाचनमा सफलता हासिल गर्ने गरी कार्ययोजना पनि बनाइएको छ ।

जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने र आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय समेत भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *