५ मंसिर, काठमाडौं । औषधि पसलमा औषधि बेच्ने व्यक्तिले अब अनिवार्य रूपमा नाम र पदसहितको सेतो एप्रोन लगाउनुपर्ने भएको छ । नेपाल फार्मेसी परिषद्ले फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य गरेको हो ।
परिषद्ले एक सूचना जारी गर्दै सोबारे जानकारी गराएको छ।
‘फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिस्ट र फार्मेसी सहायकले आगामी पुष ४ देखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याग सहितको सेतो एप्रोन लगाएर मात्र डिस्पेन्सिङ गर्नुपर्नेछ,’ परिषद्ले जारी गरेको सूचनामा भनिएको छ, ‘फर्मासिस्ट र फार्मेसी सहायकले यसको उल्लंघन गरेमा परिषद्को कोड अफ कन्डक्ट पालना नगरेको मानिनेछ ।’
फर्मासिस्टले सेतो एप्रोनको हरियो ब्याकग्राउन्ड र सहायकले निलो ब्याकग्राउन्डमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अंकित भएको एप्रोन प्रयोग गर्नुपर्ने परिषद्ले जनाएको छ ।
औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ ले औषधि चिकित्सकको सल्लाहबमोजिम बिक्रि वितरण गर्दा फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी आफैँले गर्नु पर्नेछ । फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी बाहेक अरुले त्यस्तो औषधि बिक्रि वितरण गर्दा पनि उपस्थिति भने अनिवार्य गरिएको छ।
तर विभिन्न समयको अनुगमनमा फार्मेसी पसलमा फर्मासिस्ट हुँदैनन् । फार्मेसी पसलमा फर्मासिस्ट नभई अन्य कुनै अनाधिकृत व्यक्तिको संलग्नतामा औषधिको बिक्रि वितरण गरिहेका छन् ।
औषधिको बिक्रि वितरण गर्दा फर्मासिस्टको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेपनि यो व्यवहारमा लागू भने भएको छैन ।
साथै ४ पुसबाट ड्रेसकोडको पालना भए/नभएको सम्बन्धी अनुगमन परिषद्बाट हुने र पालना नभएको अवस्थामा परिषद्को नियमावली २०५९ को परिच्छेद ३ को ३.२ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने परिषद्ले जनाएको छ ।