१० मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई-मधेश र देशभरिका जिल्लाका नागरिकलाई चिसोबाट बचाउने पूर्वतयारी गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभागका प्रमुख खिमलाल भट्टराईसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
जाडेको समयमा न्यानो कपडा र दाउराको अभावमा मधेश लगायत देशभरिका विपन्न बस्ती र परिवारलाई बढी पीडा दिने गरेको भन्दै यसबारे पूर्वतयारी गर्न प्रधानमन्त्री ओलीसँग एमालेले आग्रह गरेको छ ।
गत ११ र १२ असोजको बाढीपहिरोबाट काठमाडौं उपत्यका सहित सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखा, सिन्धुली लगायत जिल्लाका धेरै बस्तीहरू डुबान र पहिरोमा परेकाले प्राकृतिक प्रकोपबाट उठीबास भएकाहरूलाई जाडोको समयमा थप सुरक्षा प्रबन्ध गर्न राज्यका सम्बन्धित निकाय तथा संस्थाहरू लाग्नुपर्ने सुझाव एमालेले दिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले गृह मन्त्रालय मार्फत सम्बन्धित निकायमा सम्बोधनका लागि तत्काल पठाइने बताए । प्रधानमन्त्री ओलीले विपद्को पूर्व तयारी र विपद्पछिको खोज, उद्धारमा लाग्नुपर्नेमा जोड दिए ।