१० मंसिर, काठमाडौ । बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले सरुवाको निर्णयविरुद्ध दिएको रिट खारेज भएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विरुद्धमा दिएको अदालतको अवहेलनाको अर्को रिट पनि माग दाबी नपुगेको भन्दै सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ साउनमा काफ्लेको काज फिर्ता गर्दै चेतकुमार पोखरेललाई जितपुरसिमरामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाएको थियो । उक्त निर्णयका विरुद्धमा काफ्लेले सर्वोच्च अदालतमा दिएको रिटको सुनवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले खारेज गरिदिएको हो ।
मन्त्रिपरिषद् बेठकले सहसचिव वीरेन्द्र भारतीलाई २७ भदौमा प्रमुख प्रशासकीय अधिकृतमा रूपमा पठाउने निर्णय पनि गरेको थियो । सहसचिवको दरबन्दीमा कार्यरत उपसचिव काफ्लेले सो निर्णयको विरुद्धमा पनि सर्वोच्च अदालतको अवहेलना भएको भन्दै अर्को रिट दर्ता गराएकी थिइन् ।
सर्वोच्चले रिट खारेज गरेपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनका लागि बाटो खुलेको छ भने काफ्लेले जितपुरसिमरा छोड्नुपर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पछिल्लो निर्णयले वीरेन्द्रदेव भारतीलाई सहसचिवको दरबन्दीमा पठाउने निर्णय गरेकोले पुनः भारतीलाई पठाउने सम्भावना रहेको मन्त्रालय स्रोतले बतायो ।