Monday, December 23

बीआरआई लिन हुन्न भन्ने तिर गयौं भने चीन बिच्किन सक्छ : डा. भट्टराई

१० मंसिर, गोरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले बीआरआई परियोजनालाई अस्वीकार गर्न नहुने बताएका छन् । सोमबार गृह जिल्लामा पत्रकारसँगको भेटमा उनले राष्ट्रिय हितमा हुने गरी बीआरआई सम्झौता गर्नुपर्ने बताए ।

‘बीआरआईमा अनुदान, ऋण, लगानी, व्यापार र अन्य कुरा पनि छन्,’ उनले भने, ‘त्यसमा हाम्रो प्राथमिकता के हो त्यो विषयको आधारमा छनोट गरेर भन्ने हो । पहिले नै तर्सिएर लिँदै लिन्नौं, हुँदै हुन्न भन्नु सही हुँदैन भन्ने मेरो भनाइ हो ।’

अहिलेको गठबन्धनको सरकारमा रहेका दलहरू मिलेर यसबारे साझा धारणा बनाउन उनले सुझाव दिए ।

बीआरआईलाई अस्वीकार गरेर चीनलाई चिड्याउन नहुने धारणा उनले राखे । उनले भने, ‘चीनजस्तो उदीयमान शक्ति हाम्रो छिमेकी शक्ति पनि हो । त्यसलाई चिड्याउने गरी हामी प्रस्तुत भयौं भने राष्ट्रिय हित गर्दैन । झुक्न हुँदैन, पतित हुने गरी सम्झौता गर्नु हुँदैन । तर, बीआरआई नै लिन हुन्न त्यसलाई सम्झौता गर्नु हुन्न भन्ने तिर गयौं भने चीन पनि बिच्किने सम्भावना हुन्छ, त्यो हाम्रो हितमा हुँदैन ।’

भारत चीन र अमेरिकासँग मित्रवत सम्बन्ध सन्तुलन गरेर राख्न पनि उनले सुझाव दिए । ‘चीनसँग सम्बन्ध राख्दा भारतसँग बिगार्ने भनेको होइन, भारतसँग राख्दा अमेरिकासँग बिगार्ने भनेको होइन । सबैसँग सन्तुलित रूपमा सम्बन्ध राख्न ध्यान दिनुपर्छ भन्ने हो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *