Monday, December 23

इजरायल-हिजबुल्लाह युद्धविराम सम्झौतामा कसको जित भयो ?

१३ मंसिर, काठमाडौं । इरान समर्थित लेबनानी सशस्त्र समूह हिजबुल्लाह र इजरायलबीच २७ नोभेम्बरमा भएको युद्धविराम सम्झौता मध्य-पूर्वका सञ्चारमाध्यमहरूमा निकै चर्चामा छ ।

इजरायल र हिजबुल्लाहबीच एक वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्वमा यो सम्झौतासँगै विराम लागेको छ ।

इजरायली सञ्चारमाध्यमहरूले यो सम्झौताका कारण गाजामा भइरहेको युद्ध र उत्तरी मोर्चामा हिजबुल्लाहसँगको सम्बन्ध टुटेको उल्लेख गरेका छन्।

अक्टोबर २०२३ मा जब इजरायलले गाजामा आक्रमण सुरु गरेको थियो, हिजबुल्लाहले लेबनानबाट इजरायलमाथि रकेट प्रहार सुरु गरेको थियो। हिजबुल्लाह खुलेरै हमासको समर्थनमा उभिएको थियो।

इजरायली अंग्रेजी अखबार हारेत्जका स्तम्भकार रावित हेच्टले लेखेका छन्, ‘हमास र हिजबुल्लाहबीचको सम्बन्ध तोड्नु इजरायलको जित हो। यो कदमका लागि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आफूलाई प्रशंसा गर्न सक्छन्।’

२६ नोभेम्बरमा यस सम्झौताको घोषणा गर्दै नेतान्याहूले भनेका थिए, ‘लेबनानमा भएको यस सम्झौता पश्चात् हमास एक्लिएको छ। हिज्बुल्लाहलाई अब यी सबै मामिलाबाट अलग गरिएको छ र यस युद्धमा हमास एक्लै छ।’

इजरायली मिडियाको दृष्टिमा यो सम्झौता

इजरायली सञ्चारमाध्यमहरूले हिजबुल्लाह अहिले कमजोर भएको र पुनः सशक्त हुन केही समय लाग्ने उल्लेख गरेका छन् । हिजबुल्लाह इजरायलले अवसर दिएको अवस्थामा मात्रै पुनः बलशाली हुनेछ ।

हिजबुल्लाहसँगको सम्झौतापछि गाजामा जारी युद्ध र इजरायली बन्धकहरूको अवस्थाबारे पनि प्रश्नहरू उठिरहेका छन्।
इजरायलको वाला न्युज वेबसाइटको राजनीतिक संवाददाता बराक रैविडले लेखेका छन्, ‘यो हिजबुल्लाहको रणनीतिक पराजय होइन, तर उत्तरी सीमामा युद्धमा इजरायलको जित पक्कै हो। हिजबुल्लाह पूर्ण रूपमा नष्ट भएको छैन, तर यसले नाटकीय रूपमा आफ्नो शक्ति गुमाएको छ।’

तर, लेबनानको सीमा नजिक बस्ने इजरायलीहरू हिजबुल्लाह बिस्तारै बिस्तारै पुनः बलियो बन्ने दाबी गर्छन्। किरयात शमोना भन्ने सीमावर्ती इजरायली शहरका मेयरले यिस्राएल हायोम अखबारमा लेखेका छन्, ‘मलाई शंका छ कि यो युद्धविराम लामो समयसम्म कायम हुनेछ। इजरायलले दक्षिणी लेबनानमा बफर जोन बनाउनु पर्छ।’

लेबनानको सीमाक्षेत्रमा बसोबास गर्ने इजरायलीहरूले हिजबुल्लाहले दक्षिणी लेबनानका गाउँहरूमा फेरि आफ्नो प्रभाव विस्तार गर्ने सम्भावना औंल्याएका छन्।

हिजबुल्लाहसँगको सम्झौतापछि गाजामा जारी युद्ध र इजरायली बन्धकहरूको अवस्थाबारे पनि प्रश्नहरू उठिरहेका छन्।

लेबनानमा हिज्बुल्लाहसँग जस्तो भयो, त्यो गाजामा किन भएन ?

येडियोट ह्रोनोट पत्रिकामा सिमा कदमोनले आफ्नो लेखमा उल्लेख गरेकी छन्, ‘लेबनानमा जसरी उनले कदम चाले, गाजामा त्यस्तै गर्न किन सकिरहेका छैनन् भनेर नेतान्याहु इजरायली जनतालाई स्पष्ट पार्न सकिरहेका छैनन् ।’

उनले थपेकी छिन्, ‘यसको उत्तर सरल छ- उनी त्यस्तो गर्न चाहँदैनन्। नेतान्याहुले गाजाको सट्टा लेबनानलाई प्राथमिकता दिएका छन् । हमासको सट्टा हिजबुल्लाहलाई प्राथमिकता दिएका छन्। बन्धकहरूलाई छुटाउनुभन्दा आफ्नै सत्तालाई प्राथमिकता दिएका छन् ।’
हारेत्ज पत्रिकाको सम्पादकीयमा भनिएको छ- नेतान्याहुले हमासलाई अलग-थलग पारेको फाइदा उठाउनुपर्छ र गाजामा पनि यस्तै सम्झौता गरेर बन्धकहरूको रिहाइ सुनिश्चित गर्नुपर्छ ।

उता, हिजबुल्लाह समर्थित सञ्चारमाध्यमहरूले भने यो सम्झौतालाई जितका रूपमा चित्रण गरेका छन्।

अल-मनार वेबसाइटमा प्रकाशित एक रिपोर्टमा उल्लेख गरिएको छ, ‘यो लेबनानको जित हो। इजरायली फौजलाई ठूलो क्षति पुगेको छ। दक्षिणी लेबनानको रणनीतिक रूपमा महत्त्वपूर्ण खिआम शहरमाथि इजरायलको कब्जालाई विफल पारिएको छ।’

रिपोर्टमा थप भनिएको छ, ‘प्रधानमन्त्री नेतान्याहुले युद्धविरामको घोषणा गर्दा इजरायली सेना कतिसम्म असहाय भइसकेको थियो भन्ने स्पष्ट हुन्छ । उनीहरूले मैदानमा युद्ध जित्न सम्भव छैन महसुस गरेका थिए ।’

इरानको ‘कमजोरी’

हिजबुल्लाह समर्थित अल-अखबार पत्रिकाले पनि यस सम्झौताका विषयमा यस्तै विचार राखेको छ।

पत्रिकाको पहिलो पृष्ठको शीर्षक छ, ‘अटल विजय।’ लेखमा भनिएको छ, ‘हाम्रो शत्रुले सकेको सबै प्रयास गर्‍यो। यो द्वन्द्वको अन्त्य सन् २००६ को युद्धझैं भएको छ, जुन संयुक्त राष्ट्रसंघको प्रस्ताव १७०१ अन्तर्गत भएको थियो। अहिले पनि त्यही व्यवस्थाहरू समावेश छन्।’

हिजबुल्लाहको वेबसाइट अल-अहदले लेखेको छ, ‘दुश्मनले गम्भीर समस्या भोग्न थालेपछि मात्र युद्धविराम सम्भव भएको हो । इजरायलले यहाँ प्रतिरोधको अनुभव गर्‍यो। हिजबुल्लाहले पाठ सिकाएको छ। इजरायल लक्ष्यप्राप्तिमा असफल भयो, तर हाम्रो विजय भयो। इजरायलको कमजोरी र क्रूरता दुवै स्पष्ट भएको छ।’

इरानी अंग्रेजी पत्रिका तेहरान टाइम्सले हिजबुल्लाहका प्रमुख सैयद हसन नसरल्लाहका छोरा सैयद मोहम्मद मेहदीको एक भिडियो सन्देश प्रकाशन गरेको छ। मेहदीले युद्धविरामलाई हिजबुल्लाहको विजय बताएका छन्।

उनले भनेका छन्, ‘यो हाम्रो साहस र समर्पणको जित हो। उनीहरूले हाम्रा घरहरू ध्वस्त पारे र मानिसहरूलाई मारे, तर अन्ततः विजय हाम्रो भयो।’

तर, केही विश्लेषकहरूले यो सम्झौतालाई इरानको कमजोरीसँग जोडेर हेरेका छन्।

भारतमा पाकिस्तानका पूर्व उच्चायुक्त अब्दुल बासितले आफ्नो युट्युब भिडियोमा भनेका छन्, ‘यो सम्झौताले इरान अहिले टक्करको मुडमा छैन भन्ने देखाउँछ, बरु रक्षात्मक भएको छ। ट्रम्पको प्रशासन आएपछि इरान रक्षात्मक स्थितिमा पुगेको छ।’

उनले अगाडि थपेका छन्, ‘इरानले हिजबुल्लाहलाई युद्धविराम गर्न भनेको हुन सक्छ। पहिले इजरायलले गाजामा आक्रमण रोकेपछि मात्र युद्धविरामका लागि वार्ता हुनेछ भन्ने हिजबुल्लाहको धारणा थियो तर, अब परिस्थितिमा तीव्र परिवर्तन भइरहेका छन्।’

बासितका अनुसार इरान पनि ट्रम्प आउनुअघि हिजबुल्लाहलाई अहिले किनारामै राख्न चाहन्छ । ऊ अहिले ट्रम्पसँग द्वन्द्व बढाउन चाहँदैन । युरोपसँग पनि सम्बन्ध राम्रो बनाउन पनि युद्धविरामतिर अघि बढ्न चाहन्छ ।

‘इरानमा अमेरिका सरकार बदल्न र परमाणु कार्यक्रम रोक्न चाहन्छ । तर इरान अहिले ट्रम्पलाई नउक्साउने र अमेरिकालाई यस्तो कदमबाट रोक्न चाहन्छ,’ उनले भिडियोमा भनेका छन् ।

बासितले अगाडि थपेका छन्, ‘रुस युक्रेनको युद्धमा व्यस्त छ र पश्चिमी प्रतिबन्धका कारण आर्थिक रूपमा कमजोर बनेको छ। चीनको इरानमा अरबौं डलरको लगानी छ। चीन चाहँदैन कि इरान कुनै युद्धमा फसोस्। त्यसैले इरानसँग अहिले ट्रम्पको विषयमा सतर्क रहनुबाहेक विकल्प छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *