Wednesday, December 25

हत्यामा जेल बसेर निस्केका व्यक्तिको योजनामा ‘हनी ट्रयाप’

१४ मंसिर, काठमाडौं । व्यक्ति हत्यामा जेलमा बसेर निस्केका व्यक्तिको योजनामा एक अहेबलाई हनी ट्रयापमा पारेको खुलेको छ ।

हनी ट्रयापको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धान गर्दा कर्तव्य ज्यानको कसुरमा दोषी ठहर भई जेल बसेर निस्केका व्यक्तिको योजनामा हनी ट्रयाप भएको खुलेको छ ।
अपराध अनुसन्धान कार्यालयका डीएसपी रोशन खड्काको टोलीले हनी ट्रयाप आरोपमा १२ मंसिरमा भक्तपुरबाट दुई युवतीसहित तीन जनालाई पक्राउ गरेको थियो । त्यतिबेला इलामको माई नगरपालिका–१ का २५ वर्षीय समृद्धि मगर, काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारीकी २५ वर्षीया वर्षा दर्जी र सोही ठाउँका ३० वर्षीय दीपेन्द्र दर्जीलाई पक्राउ गरेको थियो ।

उनीहरूमध्ये पक्राउ परेका दीपेन्द्र दर्जी व्यक्ति हत्यामा जेल बसेर छुटेको व्यक्ति रहेको डीएसपी खड्काले जानकारी दिए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेले मुद्दा चलाएको थियो । व्यक्ति हत्याको कसुरमा २०७१ सालमा पक्राउ गरी उनी जेल चलान भएका थिए । जेलबाट छुटेका दर्जी र हाल फरार रहेका एक जनाको योजनामा हनी ट्रयापको घटना भएको डीएसपी खड्काले बताए ।

कसरी फसे अहेब ?
भक्तपुरको गोल्फुटारमा अहेब सुमन (नाम परिवर्तन) गरेका एक युवाले मेडिकल सञ्चालन गरेका थिए । उनी अनलाइन र अफलाइन दुवै काम गर्थे । अनलाइनमार्फत् औषधी डेलिभरीदेखि सामान्य मेडिकलको काम उनी घर–घरै पुगेर गर्थे । अनलाइन सेवाका लागि उनले सामाजिक सञ्जाल पनि गरेका थिए ।

उनको अनलाइन कामबारे जानकारी पाएपछि दीपेन्द्र र हाल फरार रहेका व्यक्ति मिलेर हनी ट्रयापमा फसाउने योजना बनाउँछन् । सोही अनुसार बर्षा र समृद्धिलाई प्रयोग गरिन्छ ।

पूर्वयोजनाअनुसार हाल पक्राउ परेकी वर्षाले आफ्नो घाउ ड्रेसिङ गर्नुपर्ने भन्दै अहेब सुमनलाई अनलाइनमार्फत् नै जानकारी गराउँछिन् । त्यसपछि वर्षाको आफ्नो कोठा भन्दै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ स्थित नयाँमा बोलाउँछिन् । वर्षाले दिएको लोकेशन अनुसार अहेब उनी बसेको कोठा पुग्छन् । यो घटना ८ मंसिर दिउँसो १ बजेको हो ।

घाउको ड्रेसिङ गर्न भनेर पुगेका अहेब वर्षा बसेको कोठामा छिर्छन् । तर वर्षाको शरीरमा कुनै घाउचोट हुँदैन । ती अहेब कोठाभित्र छिरेपछि वर्षाले कोठाको चुकुल लगाउँछिन् । त्यसै आफूलाई बोलाएको भन्दै ती अहेब कोठाबाट बाहिरिन लाग्छन् । सोही बेला कोठाको ढोका अगाडि समृद्धि मगर पुग्छिन् ।

त्यसपछि उनले वर्षालाई बलात्कार गर्न खोजेको भन्दै फसाउने चेतावनी दिन्छिन् । त्यसपछि उनले हाल पक्राउ परेका दीपेन्द्र र फरार रहेका युवकलाई घटनाबारे जानकारी गराउँछिन् । त्यसपछि योजना सफल भएको भन्दै दीपेन्द्र र हाल फरार रहेका युवक कोठामा पुग्छन् ।

अनुसन्धानका क्रममा हनी ट्रयापका लागि प्रयोग भएको कोठा समेत वर्षाको नभई फरार रहेका युवकको रहेको खुलेको छ । बलात्कारमा फसाउने भन्दै बार्गेनिङ गर्न थालेपछि ती अहेब त्यहाँबाट भागेर आफ्नो मेडिकलमा पुग्छन् ।

मेडिकलबाट सेकुवा कर्नर लगेर असुली
अहेब भागेर आफ्नो मेडिकलमा पुगेपछि पछ्याउँदै चारै जनाको समूह उनको मेडिकलमा समेत पुगेको खुलेको छ । त्यहाँ केहीबेर ब्ल्याकमेलिङ गर्दै बार्गेनिङ हुन्छ । रकम नदिए प्रहरी केश गराएर फसाउने भन्दै यो समूहले अहेब सुमनलाई धम्की दिन्छ ।

१८ लाख रुपैयाँबाट बार्गेनिङ सुरु हुन्छ । मेडिकलमा कुरा नमिलेपछि त्यहाँबाट कौशलटारमा रहेको वेभ सेकुवा कर्नरमा लगेर बार्गेनिङ सुरु हुन्छ । त्यहाँ पुगेपछि ८ लाख रुपैयाँ दिनेगरी उनीहरूको सहमति बनेको हुन्छ । त्यतिबेला अहेबले नगद २५ हजार रुपैयाँ दीपेन्द्रलाई र समृद्धिको सिद्धार्थ बैंकको क्युआरमार्फत २५ हजार रुपैयाँ दिन्छन् ।

११ गते साँझ ६ बजे सेकुवा कर्नरमै गएर अहेबले ७५ हजार रुपैयाँ चेक दिन्छन् । आफूलाई ब्ल्याकमेलिङ गर्दै पटक पटक रकम असुल्ने काम भएपछि ती अहेब प्रहरीकोमा पुगेका थिए । त्यसपछि अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूबाट एनआईसी एसिया बैंकको वर्षाको नाममा काटिएको ७५ हजारको चेक एक थान, नगद २० हजार ५ सय र विभिन्न कम्पनीका ४ थान मोबाइल बरामद भएको छ । उनीहरूमाथि भक्तपुर प्रहरीले आपराध लाभको कसुरमा अहिले अनुसन्धान गरिरहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *