२३ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफूविरुद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र लेखेका छन् ।
आइतबार सामाजिक सञ्जालमा सेयर गरेका पत्रमा साम्पाङले खोज पत्रकारिता केन्द्रका पत्रकार गोपाल दाहाल र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषिलाई कारबाही गर्न पत्रमा माग गरेका छन् ।
‘मैले नक्कली माओवादी बनेर चन्दा असुलेको भन्ने भ्रामक झुटो समाचार प्रकाशन गरी मेरो चरित्र हत्या गर्ने प्रयास गरेको’ आरोप उनले पत्रकार दाहाललाई लगाएका छन् ।
महासंघ सुनसरीका अध्यक्ष ऋषिलाई उक्त समाचार सामाजिक सञ्जालमा पोस्ट गर्दै भ्रम फैलाउने काम गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।
प्रेस स्वतन्त्रताको नाममा व्यक्ति र पद दुवैको मानहानी हुने गरी निराधार, भ्रामक र सामाजिक शान्तिमा खलल ल्याउने किसिमको समाचार बनाउने र दुष्प्रचार गर्ने दुवै जनालाई पार्टीगत आबद्धता नहेरी निष्पक्ष रूपमा कारबाही गर्न उनले माग गरेका छन् ।
उनले पत्रमार्फत गृहमन्त्रीलाई लेखेका छन्, ‘… म जस्तो दिनरात जनताको सेवामा लागिरहने घोटिइरहने जनप्रतिनिधिहरूले निर्वाधरूपमा काम गर्न सकियोस् अन्यथा देशको भलो कहिल्यै हुने छैन् । आशा छ तपाईं जनताको मर्म बुझ्नु हुन्छ होला । पार्टी भन्दा ठूलो हुन्छ देश । हो त्यही देशको जनताको अभिमत पाएका हामीले देशलाई बिर्सनु हुँदैन ।’
हेर्नुहोस् पत्र :