Monday, December 23

बागमतीमा राजनीतिक नियुक्ति टुंग्याउन दुई दलीय संयन्त्रको निर्देशन

२३ मंसिर, हेटौंडा । सतारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बनेको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकले प्रदेश सरकारलाई ५ बुँदे निर्देशन जारी गरेको छ ।

संयन्त्रका संयोजक समेत रहेका कांग्रेस सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको दुई दलीय संयन्त्रको बैठकले प्रदेश सरकारका बाँकी राजनीतिक नियुक्ति टुंग्याउनदेखि समस्याग्रस्त सहकारीको अवस्था पहिचान गरेर बचतकर्ताको समस्या समाधानका लागि काम गर्न निर्देशन दिएको छ ।

बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामा, नेकपा एमाले बागमती प्रदेश ईञ्चार्ज राजन भट्टराई, एमाले बागमती अध्यक्ष कैलाश ढुंगेल, कांग्रेस बागमतीका उपसभापति चन्द्र महर्जन, एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको सहभागिता थियो ।

बैठकले प्रदेश सरकारले गरेका निर्णयहरूलाई यथाशिघ्र कार्यन्वयन गर्दै प्रदेश सरकारलाई जनचाहाना अनुरुप प्रभावाकारी ढंगले संचालन गर्न सरकारलाई निर्देशन दिइएको नेता बानियाँले जानकारी दिए ।

प्रदेश सरकारमा बाँकी रहेका राजनीतिक नियुक्तिहरुलाई दुई दलको सहमतिमा टुंग्याउन पनि सरकारलाई संयन्त्रले निर्देशन दिएको छ ।

गत असोजको बाढीपहिरोबाट प्रदेश भित्रका क्षति भएका संरचनालाई पुनःनिर्माण र विस्थापितहरूको पुनःस्थापना गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्न, प्रदेशभित्र रहेका समस्याग्रष्त सहकारीहरुको यथार्थ अवस्था पहिचान गरी सहकारीमा भएको कारोबारका कारण बचतकर्ता सदस्य पीडित नहुने आवश्यक व्यवस्था गर्न निर्देशन दिइएको संयन्त्र सचिव राजु नेपालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *