Sunday, December 29

त्रिविको डिन र क्याम्पस प्रमुख नियुक्ति: सत्तापक्ष र प्रतिपक्ष आमुन्ने–सामुन्ने

२४ मंसिर, काठमाडौं । त्रिविमा ८ वटा संकायको डिन र १८ वटा क्याम्पसमा प्रमुख छैनन् । आफू निकटमा व्यक्तिलाई डिन र क्याम्पस प्रमुख बनाउन पदाधिकारीहरूले जोडबल गरिरहेका छन् तर सकेका छैनन् । मेरिटको आधारमा नियुक्ति गर्न भन्दै प्रत्येक छनोट समितिले ३ जनाको नाम सिफारिस गरेको छ । तर, तीन जनमाध्ये कसलाई बनाउने भन्नेमा विवाद भएको हो ।

परिषद्मा उपकुलपति बराल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार प्रसाद रिजाल दैनिकजसो भीसी कार्यालायमा छलफलमा बस्छन् तर निचोड निस्कन सकेको छनै । ‘सहमति जुट्न नसकेको हो । बाह्यभन्दा पनि आन्तरिक समस्या हो,’ उपकुलपति प्राडा केसरजंग बरालले भने, ‘हामी छलफल गरिरहेका छौँ ।’

एमाले र माओवादी आमुन्ने–सामुन्ने

त्रिविमा नियुक्तिको विषय यति पेचिलो बन्यो कि सरकारको नेतृत्व गरिरहेको एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका शीर्ष नेता आमुन्ने–सामुन्ने भएका छन् ।

एमालेका महासचिव शंकर पोखरेलले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उपकुलपति बरालले मेरिटोक्रेसीको नाममा आफूले चाहेको व्यक्ति नियुक्ति गर्नेगरी छनोट समिति गठन गरेको आरोप लगाए ।

‘विश्वविद्यालयमा एउटा निश्चित वैचारिक समूहलाई निषेध गर्नेगरी मेरिटोक्रेसीको भद्दा नाटक मंचन गरिरहेका छन् । यस प्रकारको क्रियाकलापले त्रिभुवन विश्वविद्यालय अघि बढ्ने होइन झन धरासाही हुनेछ,’ महासचिव पोखरेलले लेखेका छन् ।

गत १४ मंसिरमा निजी तथा आवशिय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले त्रिविका पदाधिकारीहरूमाथि आक्रमण गर्न थालेको टिप्पणी गरेका थिए ।

‘मेरो नेतृत्वको सरकारले विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू गर्ने घोषणा मात्र गरेन, लागू गरेरै देखायो । त्रिभुवन विश्वविद्यालय लगायत देशका शैक्षिक प्रतिष्ठानमा प्रतिस्पर्धाका आधारमा पदाधिकारीहरू नियुक्त भए । तर, बिडम्वना अप्राकृतिक र अस्वाभाविक रूपमा नयाँ गठबन्धन बनेपश्चात् ती प्रयासहरूमाथि आक्रमण थालिएको छ । सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ,’ उनले भनेका थिए ।

प्रचण्डको टिप्पणीमा एमाले महासचिव पोखरेलले एकसातापछि जवाफ फर्काएका हुन् । महासचिव पोखरेलले उपकुलपति बरालाको नियुक्तिमा पनि तत्कालीन माओवादी नेतृत्वको सरकारले मेरिटोक्रेसीको नाटक मन्चन गरेको आरोप लगाए ।

‘त्यतिवेलाको सत्ताको नेतृत्व गरिरहेको माओवादीले आफू निकट व्यक्तिलाई भीसी बनाउने गरी प्रकृया अघि वढायो । सोही अनुसार माओवादी निकटका चित्रवहादुर बुढाथोकी र केशरजंग बराल एक र दुई नम्बरमा सिफारिस गरिए । योजना अनुरुप २ नम्वरमा रहेका बराल भीसी बनाइए । यतिबेला त्रिविका भीसी केशरजंग बराल मेरिटोक्रेसीका नाममा सोही समयको सत्ता गठवन्धनलाई नै प्रतिनिधित्व गर्नेगरी विश्वविद्यालयको प्राज्ञिक नेतृत्व चयन योजनामा तल्लिन छन्,’ महासचिव पोखरेलले भनेका छन् ।

अध्यक्ष प्रचण्डले अहिलेको सरकार मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्ने लगायतका अवान्छित क्रियाकलाप लागेको टिप्प्णी गरेका । ‘यी सबै घटनाक्रमलाई मैले गम्भीरतापूर्वक हेरेको छु । म यही मञ्चबाट भन्न चाहन्छु– देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने यो गतिविधि सचेत नेपालीहरूका निम्ति सैह्य हुने छैन,’ उनले भनेका थिए । त्रिविका पूर्वउपकुलपतिहरू त्रिवि स्वायत्त संस्था भएकाले हस्तक्षप नगर्न राजनीतिक दलका नेताहरूलाई आग्रह गर्छन् । ‘विश्वविद्यालय प्राज्ञहरूको गणतन्त्र हो । यहाँ बौद्धिक लडाइँ हुनुपर्छ । दलहरूको राजनीति होइन,’ पूर्वउपकुलपति केदारभक्त माथेमाले भने, ‘विश्वविद्यालयमा राजनीति बन्द नभएसम्म सुधार हुन सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *